निर्मला बलात्कार–हत्या प्रकरणः गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग

काठमाडौं, असोज १८ । ‘निर्मलाका लागि न्याय अभियान’का अभियन्ताहरुले निलम्बित एसपी डिल्लीराज विष्टलगायतलाई विभागीय कारबाहीमामात्र सीमित नराखी फौजदारी कानुनको दायरामा ल्याउन माग गरेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकान्ड छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गर्न मागसमेत गरे ।

घटना भएको ७० दिन बितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकेको भन्दै उनीहरुले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा पनि मागेका छन् ।

पत्रकार सम्मेलनमा अधिकारकर्मी शारदा चन्दले हत्याकान्डको अनुसन्धानका लागि खटिएकी एसपी दुर्गा सिंह चन्दले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै फेरि पनि निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरिन् ।

त्यस्तै, अर्की अभियन्ता हिमा विष्टले सरकारले जनतामाथि राजनीति गरेको भन्दै निर्मला हत्याका वास्तविक अपराधीहरुलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाइन् ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology