मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्री

पानी जमेपछि स्थानीयलाई समस्या
बेसीशहर : दुईसाता अघि परेको हिउँ बिलाउन नपाउँदै भएको हिउँबर्षाले हिमाली जिल्ला मनाङको जनजीवन कष्टकर बनेको छ । मनाङमा बुधबार रातीदेखि निरन्तर हिउँ परिरहेको छ ।

हिमपात र बर्षापछि मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा हिमपात भएको बताए ।

चामेदेखि तल्लो भागहरु तिमाङ, दानक्यु र बगरछापमा हिमपात रोकिएर बर्षा भैरहेको छ । हिमपातले सरकारी कामकाज ठप्प भएको उनले बताए । ‘जनता सरकारी कार्यालयसम्म आउन सकेका छैनन् । हामी पनि बाहिर निस्कन सकेका छैनौं’, देवकोटाले भने, ‘यस्तो चिसोमा कोही नआएपछि काम पनि गर्ने अवस्था छैन ।’

हिमपातसँगै तीव्र गतिको हावा चलेपछि अत्यधिक चिसो बढेको चामेस्थित सिटिजन बैंकका प्रबन्धक रवीन्द्र पोरेलले जानकारी दिए । गण्डकी विकास बैंक चामे शाखाका प्रबन्धक विश्वराज पौडेलका अनुसार हिमपातले पानी जम्दा खानेपानीको अभाव हुन थालेको छ ।

गौरीशंकर आधारभुत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले हिउँले ढाकिएको बाटो पहिल्याउन नसक्दा यात्रा गर्न निकै कठिन भएको छ । ‘१० मिनेट लाग्ने बाटो हिड्न १ घण्टा लागेको छ’, गुरुङले भने, ‘बालबालिका र वृद्धवृद्धा त बाहिर निस्कनै सकेका छैनन् ।’

सडकमा ५ फिटसम्म हिउँ जमेपछि सडकमा यातायात चल्न सकेको छैन । धारामा पानी जमेकाले बस्तु चौपायलाई खुवाउन समस्या भएको छ ।

मनाङका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार हिमपातबाट अप्रिय घटना नभए पनि विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर राखेर सुरक्षा सतर्कता अपनाइएको छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology