खेतमा आएका निलगाई र बँदेललाई मार्न पाउनुपर्ने सांसद साहको माग

काठमाडौँ । किसानको बाली नष्ट गरेको भन्दै सांसद भरत कुमार साहले जंगली निलगाई तथा बदेललाई मार्न पाउनुपर्ने माग राखेका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद साहले लुम्बिनीको आसपास क्षेत्रमा निलगाई र बँदेलले किसानको बालिमा क्षति पुर्याएकाले किसानलाई खेतमा आएका निलगाई र बँदेललाई मार्न पाउने अधिकार दिनुपर्ने माग राखेका हुन्।

आ–आफ्नो क्षेत्रका क्षेत्रगत समस्याहरु राख्न पाउने शून्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै आफ्नो क्षेत्रका समस्या राख्दै समाधान गर्नुपर्ने माग राखेका छन्।

सांसद यशोधा गुरुङ सुवेदीले लम्जुङको बेशीशहरदेखि मनाङको सदरमुकाम चामे जोड्ने सडकखण्डमा ठूलो ढुंगा झरेर बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानीलगायतमा ठूलो समस्या देखिएको भन्दै सो ढुंगा हटाएर यातायात संञ्चालनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै अर्की सांसद रंगमती शाहीले पनि आफ्नो क्षेत्र हुम्लाको समस्या समाधानका लागि संसदमा सरकारको ध्यानाकर्षण गरिन्। उनले भनिन्, ‘हुम्ला जिल्लालाई सरकारले दिदै आएको अनुदानको खाद्यान्न जिल्लाको माग भन्दा अपुग भएको तथा अपुग खाद्यान्न पनि समयमै ढुवानी हुन सकेको छैन।’ चाँडै नै त्यो समस्याको समाधान गर्नुपर्ने उनले बताइन्।

प्रतिनिधि सभा सदस्य बिमला नेपालीले पनि संविधानको मर्म र भावना अनुसार दलितलाई जमिन उपलब्ध गराउन माग राखेकी छन्। सांसद यज्ञराज सुनुवारले सबै खाले भ्रष्टाचारबाट मुलुकलाई जोगाउन भ्रष्टाचार नियन्त्रण गर्न गठित सबै संस्थाको गम्भीर ध्यानाकर्षण गराए।

त्यस्तै राम बहादुर विष्टले वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचार सेलाउन नपाउदै बुढी गण्डकी आयोजनामा भ्रष्टाचार भएको समाचार आएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology