सडक बीचका रूखहरू नहटाएरै चक्रपथ निर्माणको काम अगाडि बढाएको

धनगढी — धनगढी उपमहानगरपालिकाले सडक बीचका रूखहरू नहटाएरै चक्रपथ निर्माणको काम अगाडि बढाएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको ९२ किलोमिटर लामो चक्रपथमा करिब ३ सय रूख परेका छन् । ती रूख नहटाएरै सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको छ ।

धनगढीको तुलसी चोकबाट भगवती टोलसम्मको १ किलोमिटर सडकखण्डको बीच भागमा रहेको रूख । समयमै ठेक्का पूरा गर्ने नाममा चक्रपथभित्रका रूखहरूको व्यवस्थापन नगरी अव्यवस्थित र हचुवाका भरमा काम भइरहेको स्थानीयको गुनासो छ । ‘कामको प्रगति देखाएर भुक्तानी लिने हतारोमा रूखहरूको व्यवस्थापनबिनै सडक निर्माणको काम भएको छ,’ पूर्वइन्जिनियर बलबहादुर केसीले भने, ‘सडकको स्तरोन्नतिको काम गुणस्तरयुक्त बनाउन सडकमा पर्ने सबै रूख हटाएर काम अगाडि बढाउनुपर्छ ।’ उनले रूखहरू भएको ठाउँ खाली छाडेर पछि काम गर्दा पनि गुणस्तरीय नहुने बताए ।

स्थानीय देवराव चौधरीले सञ्चालनमा आएको सडक बीचका रूख धराप जस्तै भएको बताए । ‘सडकका बीचमा पर्ने रूखहरूले दुर्घटनालाई निम्ता दिइरहेका छन्,’ उनले भने, ‘रूखहरू नहटाएरै सडक पिच गरी सञ्चालनमा ल्याउने हतारो देखिन्छ ।’ कार्यान्वयन इकाई सहरी विकास कार्यालयका इन्जिनियर श्याम थापाले भने योजनाको काम समयमै सकाउन रूख वरपरको काम बाँकी राखेर निर्माण भइरहेको दाबी गरे । ‘जिल्ला वनले चक्रपथमा परेका रूखहरू हटाउन ढिलाइ गरेकाले योजना समयमै सकाउन मुस्किल छ,’ उनले भने, ‘त्यसैले रूख भएको ठाउँबाहेक सडक निर्माणलाई तीव्रता दिएका हौँ ।’

उनका अनुसार वनले रूखहरू हटाएपछि त्यो ठाउँको पिच पछि ठेकेदार कम्पनीले आफ्नै लगानीमा गर्नेछ । सडक हस्तान्तरण भएको एक वर्षपछि पनि मर्मत सम्भारको काम ठेकेदार कम्पनीले आफैं गर्ने उनले बताए । थापाले आईईसमेत भइसकेको अवस्थामा वनले रूख हटाउनकालागि अनुमति दिन ढिलो गरिरहेकोआरोप लगाए ।

सहरी विकास कार्यालयका अनुसार भन्सार, चटकपुर, फाप्ला, राजपुर, कालिका मन्दिर, डी गाउँ हुँदै हुलाकी सडकलाई जोड्न साढे १५ किलोमिटर खण्डमा ३० देखि ४० वटा रूख परेका छन् । यो २९ करोडको योजना हो । लुम्बिनी राजेन्द्र निर्माण सेवासँग २०७४ असारमा भएको ठेक्का सम्झौताको अन्तिम म्याद २०७६ असारसम्म छ । हालसम्म प्रगति ६५ प्रतिशत भएको छ । रूखहरूले गर्दा निर्माणको काममा ढिलाइ भइरहेको ठेकेदार कम्पनीको गुनासो छ ।
यस्तै धनगढी उपमहानगरपालिकाको सबै वडालाई जोड्ने करिब ४२ किलोमिटरको अर्काे चक्रपथमा २ सय ८२ वटा रूखपरेका छन् । यो योजनाको २०७७ फागुनभित्र निर्माण सक्ने अन्तिम म्याद छ । करिब ८४ करोडको लागतमा लामा–खड्का कृष्ण जेभी कम्पनीले निर्माणको ठेक्का लिएको छ । यस्तै तुलसी चोकदेखि भगवती टोलसम्मको १ किलोमिटर सडक खण्डमा ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । यस खण्डमा ४ वटा रूखपरेका छन् ।
Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology