वर्षाका कारण कञ्चनपुरमा ६ करोड रुपैयाँ बराबरको इँटामा क्षति

कञ्चनपुर, माघ २६ । बेमौसमी वर्षाका कारण कञ्चनपुरमा ६ करोड रुपैयाँ बराबरको इँटामा क्षति पुगेको छ ।

तीन दिनदेखि लगातार परेको बर्षाका कारण जिल्लामा करिब ६ करोड मूल्य बराबरको इँटा नोक्सान भएको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघले जनाएको छ ।

पानीका कारण चट्टा लगाइएका इँटा गलेर नष्ट भएका छन् । वर्षाले ठूला इँटा उद्योगमा १५ देखि २० लाख र साना उद्योगमा करिब १० लाख इँटा नोक्सान भएको व्यावसायीको भनाइ छ ।

काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका बेला वर्षा हुँदा २० लाख वटा इँटा नोक्सान भएको बजरंगी इँटा तथा टायल उद्योगका सञ्चालक दानबहादुर रावलले बताए । उनले दैनिक १ लाख २० हजार इँटा उत्पादन हुने गरेको भन्दै वर्षाले काम गर्न नसक्दा मजदूरको परिश्रम र समय पनि नोक्सान भएको बताए ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology