बागमती सफाई अभियानको ३ सयौं हप्ता पुरा

बागमती सफाई महाअभियानले ३ सयौं हप्ता पुरा भएको छ । शहरी विकास मन्त्रालयले अभियानमा सहभागी हुन सरोकारवाला सबैलाई आह्वान गरेको छ । स्वच्छता मेरो पहिचान, सफाईमा योगदान भन्ने नाराका साथ थालिएको अभियानले नेपालभरका विभिन्न ९० भन्दा बढी स्थानमा सफाई अभियान सञ्चालनमा प्रेरणा तथा सकारात्मक सन्देश दिएको छ ।

शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती धोबीखोला नख्खु, कर्मनाशा इन्द्रमती, मनोहरा, हनुमन्ते लगायतका नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी गरिएको थियो ।

यस अवधिमा करीब १८ हजार मेट्रिक टन फोहर उठाई सकिएको छ । उपत्यकाभर १८ सय ५० भन्दा बढी संघसंस्था र करीब १० लाख अभियन्ताको प्रत्यक्ष सहयोगमा हरेक हप्ता बागमती सफा गर्ने काम भईरहेको छ । सरकार र नागरिकको अगुवाईमा मुलुकभर चलेको बागमती सफाई अभियानको काम तीव्र गतिमा समेत भईरहेको छ । यद्यपि, ढल व्यवस्थापन र फोहरमैला व्यवस्थापनको चुनौतीका कारण यो अभियान सफल हुन अझ गम्भीर बन्नुपर्ने सरोकारवाला बताउँछन् ।

यसैबीच आज शहरी विकास मन्त्रालयको अगुवाईमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । आज बिहानै ७ बजे शंखमूलस्थित युएन पार्क प्रभातफेरि सहित सरसफाई गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनुहुन्थ्यो । यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा आज ७ सय ५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन गरिएको छ ।

विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गर्नुभएको थियो । शुरुआती चरणदेखि नै तत्कालीन मुख्यसचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सफाइ महाअभियानको नेतृत्व गर्नुभएको थियो ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology