विश्व क्रिकेटका ६ घटना जब खेलाडीले हारजीतभन्दा खेल भावना माथि राखेर सोचे

काठमाडौं। क्रिकेट अहिले नेपालमा निकै लोकप्रिय छ । नेपाली राष्ट्रिय टिमले वनडे अन्तर्राष्ट्रिय मान्यता पाएको छ । यसअघि नेपालले टि–२० विश्वकपमा पनि सहभागिता जनाइसकेको छ । अण्डर १९ विश्वकपमा त नेपालले धेरै पटक सहभागिता जनाइसक्यो । यतिमात्र होइन नेपाली अण्डर १९ टिमले त भारत, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका जस्ता बलिया राष्ट्रलाई समेत पराजित गरिसकेको छ । यस्तोमा नेपालमा क्रिकेट लोकप्रिय हुनु स्वभाविक नै हो । क्रिकेट इतिहासमा यस्ता केही घटनाहरु छन् जहाँ खेलाडीहरुले खेल भावनालाई हारजीतभन्दा माथि राखेर फैसला गरेका छन् । ती घटना क्रिकेट इतिहासमा सुनौला घटनाको रुपमा अंकित हुनेछन् ।

१. गुंडप्पा विश्वनाथले बब टेलरलाई फिर्ता बोलाउनुः १९८० मा मुम्बइ टेस्टमा इङल्याण्डका ब्याट्सम्यान बब टेलरलाई अम्पायरले विकेटपछाडि क्याच आउट दिए तर बल ब्याटमा लागेको थिएन । भारतका कप्तान गुंडप्पा विश्वनाथले टिमका साथीहरुसँग सल्लाह गरेर अम्पायर हनुमन्ता रावसँग अपिल फिर्ता लिए र टेलर नटहाउट घोषित भए । यो खेल भारतले हार्यो तर यो खेल हारजीत भन्दा पनि खेल भावनाको लागि चर्चित भयो ।

२. धोनीले रनआउट अपिल नगर्नुः २०११ मा भारतको इङल्याण्ड टुरमा इङल्याण्डका ब्याट्सम्यान इयान बेलले बल डेड भएको सम्झेर क्रिजबाट बाहिर गए । अम्पायरले ओभर समाप्तिको घोषणा गरेका थिएनन् । धोनीले तत्काल गिल्ली उडाए । नियमतः बेल आउट थिए तर धोनीले बेलले अन्जानमा यो गल्ती गरेको बुझे । बेलले कुनै रन लिने प्रयास गरेका थिएनन् अतः धोनीले रनआउट अपिल नै गरेनन् र बेल नटआउट रहे ।

३. इमरान खानले श्रीकांतलाई फिर्ता बोलाउनुः १९८९ मा लाहोर वन डेमा भारत र पाकिस्तानबीच खेल भइरहेको थियो । वकार युनुसको बलमा अम्पायरले कृष्णामाचारी श्रीकांतलाई एलबीडब्लु आउट दिए । श्रीकांत दुःखी मनले पभेलियन फर्कँदै थिए । पाकिस्तानी कप्तान इमरान खानलाई विश्वास थियो उनी आउट थिएनन् । इमरानले अम्पायरसँग अपिल फिर्ता लिएर श्रीकांतलाई फिर्ता बोलाए ।

४. सहवागले थिरिमानेविरुद्धको अपिल फिर्ता लिनुः अस्ट्रेलियामा २०१२ मा भारत र श्रीलंकाबीच वन डेमा नन स्ट्राइकर इण्डमा बल फाल्नुभन्दा पहिले अगाडि बढेका श्रीलंकाका लाहिरु थिरीमानेलाई बलर रविचन्द्रन अश्विनले ‘मांकडिंग रन आउट’ गरिदिए । नियमअनुसार थिरिमाने आउट थिए तर कार्यवाहक कप्तान विरेन्द्र सहवागले सिनियर खेलाडी सचिन तेन्दुलकरसँग परामर्श गरेर अपिल फिर्ता लिए ।

५. पोन्टिङले सचिनलाई फिर्ता बोलाउनुः २००६ मा त्रिकोणीय सिरिजको फाइनलमा अम्पायरले सचिन तेन्दुलकरलाई विकेटपछाडि क्याच आउट दिए तर बल उनको ब्याटमा नभइ काँधमा लागेर गएको थियो । अस्ट्रेलियाका कप्तान रिकी पोन्टिङले अम्पायरसँग परामर्श गरेर सचिनलाई फिर्ता बोलाउन आग्रह गरे र सचिन नटआउट घोषित भए ।

६. भिटोरीले अपिल फिर्ता लिनुः २०१२ मा जिम्बाब्बेविरुद्ध न्यूजिल्याण्डको वनडेमा न्यूजिल्याण्डका स्पिनर ड्यानियल भिटोरी न स्ट्राइकर इण्डमा रन लिइरहेका ब्याट्सम्यान मेल्कम वालरसँग ठोक्किए । वालर ढलेपछि अर्को इण्डबाट दौडिँदै आएका रेगिस चकाबवा बीचबाटै फर्कनुपर्यो । उनी फर्कदासम्म विकेटकिपरले रनआउट गरिसकेका थिए । तर, भिटोरीले तत्काल अपिल फिर्ता लिए किनकि उनका कारण दौडिन अलमल भएको थियो ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology