रहेनन् गाडी बोक्ने जिउँदो इतिहास

हेटौडा । त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडाैं पुर्‍याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ ।

मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं लगिँदै (दायाँ) र गाडी बोक्नेमध्येका एक थाहा नगरपालिका—५ तसरका ९३ वर्षीय जुक्तबहादुर वाइबा ।

दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो । उनलाई उपचार गर्न माघ १० मा काठमाडाैं लगिएको थियो । उपचारपछि शनिबार घर ल्याइएको थियो । ‘दमको रोगी हुनुहुन्थ्यो, कम भयो भनेर काठमाडौंबाट ल्याएको तीन दिनमै मृत्यु भयो,’ स्थानीय चमेली वाइबाले भनिन् ।

वाइबा गाडी बोक्न छाडेपछि गाउँमा धामीझाँक्री गरेर बसेका थिए । घरमा आएका बिरामीलाई ढ्याङग्रो ठोकेर झारफुक गरेर पठाउँथे । हिँड्न नसक्ने बिरामीलाई उनीहरूका घरमै गएर सेवा दिन्थे । युवा अवस्थामा उनका काँधमा गाडीको नोल बस्थ्यो, पछि ढ्याङग्रो बस्ने गरेको थियो ।

धामीझाँक्री भए पनि उनलाई गाउँका सबैले गाडी बोक्ने ‘भरिया वाइबा’ भन्ने गर्थे । वाइबा नयाँ पुस्ताका निम्ति जिउँदो इतिहास थिए । अहिले गाडीले मान्छे बोक्छ, त्यतिबेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी जीवितपात्र थिए ।

वाइबाले भीमफेदीबाट १६ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । नाइकेले उनलाई अग्लो र बलियो देखेर गाउँबाट छानेर लगेका थिए । ६ फिट अग्ला वाइबाले सानाठूला गरेर सयभन्दा बढी गाडी बोकेर काठमाडौं पुर्‍याएका थिए ।

पहिलो पटक भीमफेदीबाट सानो गाडी नोल लगाएर ८/८ जना गरी ३२ जनाले ७ दिनमा थानकोट पुर्‍याएको उनलाई सम्झना थियो । भेटको सुरुमै उनी त्यही कुरा सबैलाई सुनाउँथे । त्यतिबेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमध्ये तीन रुपैयाँ बाटामा खाना र खाजामा खर्च गरे र दुई रुपैयाँ घरमा बुझाएका थिए ।

दुई रुपैयाँ घरमा बुझाउँदा सबै खुसी भएको घटना उनले तीन वर्षअघि सञ्चारकर्मीलाई हाँसी हाँसी सुनाएका थिए । गाडी बोक्दा परालको चप्पल लगाउने बानी परेका वाइबालाई अरू खालका चप्पल र जुत्ता लगाउँदा असजिलो हुने गरेकाले उनी गाउँमा जुत्ताचप्पल लगाउँदैनथे ।

नातिले बजारबाट किनेर ल्याएको प्लास्टिकको चप्पल लगाउँदा वाइबा आँगनमै लडेका थिए । त्यसपछि उनले प्लास्टिकको चप्पल लगाएनन् । परालको चप्पल बुनेर लगाउनलाई नातिहरूले दिएनन् । त्यसैले उनी नाङ्गै खुट्टा हिँडे । गाडी बोक्दा चिप्लिनेडरले सबै भरिया परालको चप्पल लगाउने गर्थे ।

भीमफेदीबाट काठमाडौंसम्म एउटा गाडी बोकेर लैजाँदा चार जोर परालका चप्पल फाट्ने गथ्र्यो । गाडी बोकेर कमाउन थालेपछि उनको विवाह गाउँमा भएको थियो । २०७३ भदौमा सञ्चारकर्मीसँग हाँस्दै भनेका थिए, ‘गाडी बोक्न थालेपछि विवाह गर्न समस्या नै भएन, त्यतिबेला २,४ वटीसँग विवाह गरेको भए पनि हुन्थ्यो, तर त्यसो गरिनँ ।’

वाइबाकी पत्नी ६ वर्षअघि नै बितेकी थिइन् । उनी नातिसँग बस्दै आएका थिए । साना गाडीमा लामा–लामा नोल बाँधेर चार कुनामा ८/८, १६/१६ र २४/२४ तन्नेरीहरू काँधमा बोकेर हिँड्थे । त्यतिबेला भरिया र नाइकेहरूले ८/८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६/१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४/२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे ।

भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौं गाडी बोकेर पुर्‍याउँदा ७ देखि १२ दिनसम्म लाग्ने गथ्र्यो । त्यसबापत एक जनाले ५ रुपैयाँ पाउँथे । २०१२ सम्म वाइबाले गाडी बोकेका थिए । विसं २०१३ मा त्रिभुवन राजपथ निर्माण भएपछि गाडी बोकेर राजधानी लैजाने परम्परा छुट्यो ।

जुक्तबहादुरको निधनपछि गाडी बोकेर काठमाडाैं पुर्‍याउनेमध्ये पहिचान भएका अब एक पात्र मात्र जीवित छन् । वाइबाकै घरबाट आधा घण्टा उकालो हिँडेपछि पुगिने थाहा नपा–५ पुरन्डीका ८९ वर्षीय हिराबहादुर घलान अब एक मात्र जिउँदो इतिहास छन् । उमेरमा गाडी बोकेर लैजाने घलानलाई अहिले आँगन नै परदेश बनेको छ । लौराका सहारामा बल्लतल्ल घर भित्र–बाहिर गर्छन् ।

‘गाडी बोक्ने जीवित पात्र घलान मात्र एक हुन सक्छन्, अरूको निधन भइसक्यो,’ इन्द्रसरोवर गाउँपालिका मार्खुका ९४ वर्षीय दलबहादुर बलामीले भने, ‘गाडी बोक्नेहरू अधिकांश यसै भेगका थिए ।’ विगतमा गाडी बोकेर राजधानी प्रवेश गराउने भरियाहरूको थातथलो मार्खु, कुलेखानी र चित्लाङ, फाखेल र वज्रबाराही थियो । गाडी बोक्ने फाखेलका ९२ वर्षीय हिराबहादुर बलामी र चित्लाङका ९४ वर्षीय धनबहादुर गोलेको ५ वर्षअघि नै मृत्यु भइसकेको छ ।
Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology