घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड एमबाप्पेको पिएसजीसँग २-० ले स्तब्ध

म्यानचेस्टर युनाइटेड आफ्ना दुई स्टार खेलाडी नेइमार र कभानीबिनै उत्रेको पेरिस सेन्ट-जर्मेन(पिएसजी)सँग २-० गोलले पराजित भएको छ।

म्यानचेस्टर आफ्नै घरेलु मैदानमा स्तब्ध भएको हो।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले दुबै गोल खेलको दोश्रो हाफमा खाएको हो। चोटका कारण नेइमार र एडिन्सन काभानी मैदान बाहिर रहेको पिएसजी केलियन एमबाप्पे, एन्जल डी मारियासहितका खेलाडीको साथमा वल्ड ट्रफोर्ड मैदानमा उत्रेको थियो ।

पिएसजीले पराजित गरेसँगै म्यानचेस्टरको अपराजित यात्रामा विराम लागेको छ। पछिल्ला ११ खेलमा ऊ अपराजित रहँदै आएको थियो।

म्यान्चेस्टरलाई हार चखाउने क्रममा पिएसजीले खेलको ५३ औँ मिनेटमा पहिलो गोल गरेको थियो। सो गोल प्रेसनियल किमपेम्बेले गरेका थिए । २-० को जीतको लागि दोश्रो गोल पिएसजीका लागि एम्बापेले खेलको ६० औं मिनेटमा गरे।

हिजोको खेलमा  म्यानचेस्टर युनाइटेड अन्तिम समयमा १० खेलाडीमा समेत सीमित भयो । ८९ औँ मिनेटमा पउल पोग्बा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि ऊ १० खेलाडीमा सिमित हुन पुगेको थियो ।

जोसे मोर्हिन्होले म्यानचेस्टरको प्रशिक्षक पदबाट राजिनामा दिएपछि  ओल गुनारको अन्तरिम प्रशिक्षकत्वमा म्यानचेस्टर युनाइटेडको यो पहिलो हार हो। उनले जिम्मेवारी सम्हाले यता म्यानचेस्टरले ११ खेलमा  १० खेलमा विजयी रहेको थियो भने एक खेलमा बराबरीमा रोकिएको थियो ।

दोस्रो लेग मार्च ६ मा पिएसजीको मैदानमा हुनेछ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology