सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

एक–अर्काको प्रेममा मग्न मल्होत्रा जोडी

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • मिस नेपाल–२००९ जेनिशा मोक्तान तथा व्यवसायी दिकेश मलहोत्रा जीवनसाथीका रूपमा जीवनभरि नै एक–अर्काको मायामा हराउन चाहन्छन् । व्यापारी घरानामा जन्मिएका दिकेशलाई बुवाको काम अर्थात् व्यवसायबाहेक अरू कुनै काममा रुचि भएन । त्यसैले उनले अमेरिका र बेलायत गएर सोही विषय अध्ययन गरे । मिस नेपाल हुनुअघि नै विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी जेनिशा र दिकेशको भेट दिकेशकी फुपूकी छोरी प्रियंकाको इंगेजमेन्टमा भएको हो । त्यतिबेला दिकेश अमेरिकाबाट दुई महिने छुट्टीमा नेपाल आएका थिए । कम बोल्ने, सोझो र इनोसेन्स दिकेशको शान्त र हँसिलो स्वभाव जेनिशाको मनमा डेरा जमाउन पर्याप्त भयो । दिकेश पनि जेनिशाको व्यक्तित्वबाट प्रभावित थिए ।

    दार्जीलिङमा पढेकी जेनिशाले एक्लै शान्त बसिरहने दिकेशलाई त्यहाँका जोक्सहरू सुनाएर हँसाइरहन्थिन् । जोक सुन्दै–सुनाउँदै उनीहरू एक–अर्कासँग नजिकिँदै गए । केटीहरूसँग बोल्दै नबोल्ने आफू जेनिशासँग बस्ने–बोल्ने तथा घुम्ने थालेपछि सबैले जिस्काउन थालेको दिकेश बताउँछन् । दिकेश अमेरिका फर्किएपछि उनीहरूको सम्बन्ध अझ गाढा भयो । समय मिल्नेबित्तिकै उनीहरूबीच कुराकानी हुन थाल्यो । अध्ययन पूरा गरी दिकेश नेपाल आएपछि जेनिशा र दिकेश दुवैले इन्टर्नसीपका लागि सामसुङमा सँगै काम गरे । कामलाई महत्व दिने उनीहरू एमबीए पढ्न सँगै बेलायत गए ।

    एक वर्ष सँगै बस्दा एका–अर्कासँग नजिकिन र एक–अर्कालाई बुझ्न अझ सजिलो भयो । उनीहरूको अफेयरको हल्ला दुवैको घरमा पनि पुगिसकेको थियो । दुुवै परिवारले सुरुमा यो सम्बन्धलाई स्वीकार गरेका थिएनन् । हुन त दिकेशको परिवार पूरै अन्तरजातीय भए पनि दिकेश सोझो छ तामाङ केटीले बर्बाद पो गर्छे कि भन्ने थियो । उता जेनिशाको घरमा पनि फरक संस्कृति भएको घरमा छोरीलाई गार्‍हो हुन्छ कि भन्ने थियो । दुवैको गहिरो प्रेमका अगाडि घरपरिवारको केही लागेन र अन्तत: पारिवारिक समझदारीमै उनीहरूको विवाह भयो ।

    विवाहअघि पनि सँगै काम गर्ने भएकाले जेनिशा बूढानीलकण्ठबाट दिकेशको घर धुम्बाराही आउँथिन् र उनीहरू सँगै अफिस जान्थे । बेलुका डिनर गरेपछि जेनिशालाई घर पुर्‍याइदिन्थे दिकेशले । त्यतिबेला जेनिशा सामसुङकी एचआर हेड थिइन् । अहिले उनी डिएम फाउन्डेसनको डाइरेक्टर छिन् । जेनिशाको कामबाट दिकेश मात्र होइन सासू–ससुरा पनि उत्तिकै प्रभावित छन् । घरमा लन्च, डिनर सकभर सबै जना सँगै बसेर खाने चलन छ ।

    शनिबार सपरिवार हलमा गएर चलचित्र हेर्छन् । आमा नेवार, बुवा क्षेत्री र श्रीमती तामाङ भएकाले दिकेश आफ्नो परिवारलाई बहुसांस्कृतिक परिवार भन्न रुचाउँछन् । जेनिशा पनि घरमा जाँदा घरको र माइतीमा जाँदा माइतीको संस्कृति मान्छिन् ।

    दिकेश पनि उस्तै छन् । विवाहअघि जेनिशामा धेरै रिसाउने, चित्त नबुझेको कुरा भनिहाल्ने स्वभाव थियो भने अहिले उनको रिस निकै कन्ट्रोल भएको छ । श्रीमान्–श्रीमती भएपछि कहिलेकाहीँ झगडा हुनुपर्छ भन्ने सोच जेनिशाको छ तर दिकेश कसैसँग पनि झगडा गर्नुहुँदैन भन्ने मान्यता राख्छन् । जेनिशाले केही कुरामा किचकिच गरिहाले उनी बाहिर निस्कन्छन् वा चुपचाप बसिदिन्छन् । दिकेश जसरी भए पनि समय मिलाएर एक्सरसाइज गर्छन् भने जेनिशा यो मामिलामा अल्छी छिन् । यो कुरामा दिकेशको गुनासो छ तर जेनिशाको हातले तयार पारेको मीठो खाना खाएपछि उनी आफ्ना सारा गुनासा बिर्सन्छन् । एक–अर्काप्रति सम्मान भएकै कारण सात वर्षको यो सम्बन्ध दिनप्रतिदिन अझ गाढा हुँदैछ ।

    संगीत पारखी

    दिकेश हर समय गीत सुन्न रुचाउँछन् । पप, रक, लोक, क्लासिकल, नयाँ, पुराना सबै गीत सुने पनि राहत फतेह अलि खानको सुफी संगीत बढी मन पराउँछन् उनी । जेनिशालाई भने नेपाली पप गीत मन पर्छन् । अहिले आएर उनी हेमन्त रानाकी प्रशंसक भएकी छिन् । दिकेश ड्रम र गितार बजाउन पनि उत्तिकै सिपालु छन् । जेनिशा भने अन्ताक्षरी खेल्न रुचाउँछिन् ।

    खेलकुदमा रुचि

    जेनिशालाई स्विमिङ तथा ब्याडमिन्टन सारै मनपर्छ । उनी टिभीमा घन्टौं क्रिकेट हेर्न सक्छिन् । दिकेश भने फुटबल खेल्न तथा हेर्न रुचाउँछन् भने अहिले उनी गल्फ पनि खेल्न थालेका छन् । दिकेश घरमा भिडियो गेमसमेत खेल्छन् ।

    उपहार दिन माहिर दिकेश

    बाहिर गैरहनु परेर पनि होला उपहार किन्ने बानी छ दिकेशको । नेपालमै पनि कतै जाँदा उनी उपहार किन्न छुटाउँदैनन् । दिकेश अनलाइन सपिङमा सारै रमाउँछन् । अहिले त हरेक दिन जेनिशालाई अनलाइन सरप्राइज उपहारहरू आइरहन्छन् । घरमा चाहिने आवश्यक सामानहरू दिकेशले नै अनलाइनमार्फत जेनिशाका लागि च्वाइस गरी पठाइरहन्छन् । दिकेशको यो बानी जेनिशालाई सारै मन पर्छ ।

    सम्बन्ध बलियो बनाउन

    मानिसहरू आफूले गरेको सबै देख्छन् तर अरूले गरेको देख्दैनन् । त्यसैले पनि मैले मात्र गरें भन्ने सोच पनि सम्बन्ध बिग्रनुको कारण हो । एकले अर्काका लागि मैले यति कम्प्रमाइज गरें भन्ने भावना आउँदा र केटाहरूमा विद्यमान मै ठूलो, मैले भनेकै हुनुपर्छ भन्ने इगोका कारण धेरै सम्बन्ध बिग्रिएको पाइन्छ । सम्बन्ध बलियो तुल्याउन एकले अर्काको कामप्रति सम्मान गर्नुपर्छ, आफू जस्तो छु, अरू पनि त्यस्तै हुनुपर्छ भन्ने सोच नराखी मिलेर अघि बढ्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology