आफ्नो माग पूरा नै नगरी दिवस मनाएको भन्दै जनयुद्वका घाईतहरु आक्रोशित

काठमाडौँ । २४ औँ जनयुद्वदिवसको अवसर पारेर जनयुद्वका घाईते, अपाङ्ग तथा बेपत्ता व्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गरेको छ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर सरकारले आफूसंग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै गुनासो पोखेको छन्। मेडिकल बोर्ड तथा शान्ति समितिकोे सिफारिसमा परेका घाईतेहरुलाई तत्काल उपचारार्थ विदेश पठाईनुपर्ने, घाईते परिषद तत्कालै खारेज गरि जीवन निर्वाह भत्तासहित सामाजिक सुरक्षामा बृद्धि हुनेगरि तत्काल नयाँ समितिको गठन हुनुपर्ने, घाईतेहरुले पेस गरेको बिल भरपाई तुरुन्त लागु गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै वितरण गर्नुपर्ने लगायतका आफ्ना मागहरुमा ध्यान दिन सरकारलाई सचेत गराएको छ।

कार्यक्रममा बोल्दै जनयुद्वका घाईते रमेश कालिकोटेले सरकारले आफुहरुसंग गरेका सम्झौताहरलाई कार्यान्वयननगरेको भन्दै आक्रोश पोखे। उनले भने, ‘हाम्रा मागहरु पूरा नगरी जनयुद्व दिवस मनाएकोमा आपत्ति छ।’ सरकारले घाईते तथा शहिदहरुको रगतको मसिले लेखिएको गणतन्त्रमा आफुहरुलाई अधिकारबिहिन बनाएको उनको आरोप छ।

सरकारले विशालसभा गरेर जनयुद्व दिवस मनाई रहँदा जनयुद्वका प्रत्यक्ष योद्वाहरु अझै शरिरभरि क्रान्तिको निशाना र पीडा बोकेरै बाँचिरहेको पनि उनले बताए। उनले भने, ‘हाम्रै बलिदानले देशमा परिवर्तन आएको होईन र ? किन हामीलाई बलिदानको उपहारमा आज गृह मन्त्रालय प्रबेशमा रोक लगायौ?’

आफ्ना मागहरुको बारेमा गम्भिर बन्न पनि उनले सरकारलाई आग्रह गरे। उनले भने, ‘हाम्रा मागहरुको सम्बोधन हुनुपर्छ। यदि सम्बोधन भएन भने हामी देशभरि रहेका हजारौ जनयुद्व पीडितहरु संघर्षको कार्यक्रममा उत्रिन बाध्य हुन्छौं।’ उनले देशले खोजेको परिवर्तन न्याय र समृद्व अधिकारको लागि भएको तर अधिकारका लागि लड्ने आफूहरुलाई नै आज अधिकारबिहिन बनाईएको गुनासो पोखे।

सरकारले आज पीडितको नाममा मनाएको दिवस आफुहरुको निमित्त कालो दिन भएको उनले धारणा राखेका थिए। आफूहरुको समस्याका बारेमा स्वास्थ मन्त्रालयमा जानकारी गराउन खोज्दा पार्टी कार्यालयमा गएर धर्नामा बस भन्ने मन्त्री कसको बलिदानले पदको लाभमा बसेका हुन् भन्ने प्रश्नसमेत उनले तेर्साए।

घाईते अपाङग तथा बेपत्ता संघ ३ नं प्रदेश संयोजक तथा दोरम्भा घट्नाका प्रत्यक्षदर्शी मोहनकुमार योङजोङले हिजो साम्यवादको नारा लगाएर परिवर्तनको खोजीमा हिँड्ने पार्टीले आज आफूहरुको पीडा नसुनेको आरोप लगाए।

सरकार दुई तिहाईको दम्भ देखाउनमा व्यस्त रहेको तर आफूहरुको कुरा नै नसुनेको उनको आक्रोश छ । उनले मन्त्रालयमै बिष सेवन गर्दा पनि सरकारले पीडा नदेखेकोमा दुःख व्यक्त गरे। ‘हामीले खान, लाउन मागेका होईनौं, क्रान्तिले तहसनहस पारेकोे हाम्रो स्वास्थ्य उपचारको व्यवस्थाको अधिकारका खोजी गरेका हौं।’ उनले भने।

नेताहरुलाई घोडा चढ्न र गाडी कुदाउन मात्र परिवर्तन नखोजेको बताउँदै उनले आफूहरुको बुईं चढेर नेताहरु सत्तामा पुगेको आरोप लगाए। उनले भने, ‘राज्यले हाम्रो स्वास्थ्य समस्याबारे गम्भिर भएर तुरन्त हामीलाई उपचारको व्यवस्था गर्नुपर्छ ।’ अहिले समय र जनता परिवर्तन भईसकेको कारण राज्यले आफ्ना मागहरुको सम्बोधनमा जोड दिनुपर्ने उनको भनाई छ।

त्यस्तै परिवारका सदस्य ज्योती किरणले प्रचण्डले मनाएको जनयुद्ध दिवसको कुनै औचित्य नरहेको आरोप लगाए। दलाललाई खूशी पार्ने यस्ता कार्यक्रमले वास्तविक पीडितहरु मारमा परेको उनको भनाई रहेको थियो।

क्रान्तिको विचारलाई बिर्सेर गरेको कार्यक्रम खारेज भएको घोषणा गर्दे उनले प्रकाण्ड र बिप्लवले देशमा आगो बालेको दिन कुन दिवस मनाउने हो तयार हुन समेत चेतावनी दिएका छन्।

उनले भने, ‘सत्तामा पुग्न बाटोमा गुच्चा खेलमा जितेर आएका होईनौ, हाम्रा परिवारका सदस्यहरुको लासमा टेकेर तपाई प्रधानमन्त्री बन्नुभएको हो।’ उनले पार्टीका उच्च तहका नेताहरुको स्वर्गको बसाई धेरै दिन नटिक्ने पनि जिकीर गरे। ‘सेल्टरमा खानादेखि रगतदान गर्नेहरुको रगतले नेताहरुलाई कुनै दिन अवश्य सराप्ने छ।’

महिला नेतृ बिनिता दाहालले भनिन्, ‘देशको लागि प्राणको आहुती दिने शहिदको राज्यले अपहेलना गरेको गुनासो पोखिन्। उनले भनिन्, ‘एकाध व्यक्तिको प्रगति देखेर हाम्रा सपना पुरा हुँदैनन्, आजको दिन ती महान् शहिदहरुको हो जसले आफ्ना बिचार बेचेनन्।’ राज्यले आफूहरुलाई गैर–जिम्मेवारीपूर्ण व्यवहार देखाएकोमा बलिदानको अर्थमा ध्यान दिन सरकार समक्ष आग्रह गरेकी थिईन्।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology