सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

स्थानीय तह : तेलमा हालीमुहाली

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • बुटवल — कपिलवस्तुको यशोधरा गाउँपालिकाकी उपप्रमुख कन्यावती उपाध्यायले गाउँसभा सञ्चालन भइरहेका बेला मागेजति इन्धन पाउनुपर्ने भन्दै कार्यक्रम नै अवरोध गरिन् । मागजति तेल सुविधा नदिए सभा सञ्चालनै हुन नदिने चेतावनी दिइन् ।
    मञ्चमै विरोधमा उत्रिएपछि सहभागीले उनलाई सम्झाइबुझाइ गरे । सभाबाटै उनलाई मासिक ४५ लिटर तेल दिने निर्णय गरियो । तेल पाउन थालेपछि उनी फुरुंग छिन् । स्कुटरमा सुविधाको सबै तेल खपत हुँदैन । बचेको तेलले कार्यकर्ता रिझाउँछिन् ।

    यशोधरा गाउँपालिकाले चालु वर्ष तेलका लागि १९ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सात महिनामा १० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । त्यहाँका वडाध्यक्षले पनि मासिक २० लिटर तेल पाउँछन् । कर्मचारीलाई आवश्यकताअनुसार दिने गरिएको छ ।

    कपिलवस्तु नगरपालिकाले २० लाख ३६ हजार रुपैयाँ इन्धन खर्चबापत छुट्याएको छ । प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले त्यसको आधाभन्दा धेरै खर्च भइसकेको जनाए । तोकेको कोटाभन्दा धेरै मागेर हैरान तुल्याउने गरेको उनले सुनाए । नगरपालिकाले वडाध्यक्षलाई ५ हजार र सचिवलाई १ हजार ५ सय रुपैयाँबराबरको तेल व्यवस्था गरेको छ ।

    बाँकेको डुडवा गाउँपालिकाले वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीलाई मासिक २०/२० लिटर पेट्रोल उपलब्ध गराएको छ । गाउँपालिका प्रमुख/उपप्रमुखका हकमा आवश्यकताअनुसार लिन पाउने निर्णय छ । मासिक १ लाख रुपैयाँ इन्धनमा खर्च भइरहेको गाउँपालिकाले जनाएको छ । प्रमुख स्कर्पियो गाडी चढछन् ।

    वडाध्यक्षलाई मोटरसाइकल दिइएको छ । अनुदानबाहेक आन्तरिक स्रोतबाट इन्धनमा खर्च गरिन्छ । सर्वसाधारणको काम र आयोजना अनुगमनका लागि इन्धन दिइएको गाउँपालिकाको दाबी छ । ‘वडाध्यक्षलाई मासिक २० लिटर पेट्रोल सुविधा छ, प्रमुख/उपप्रमुखको हकमा आवश्यकताअनुसार भनिएको छ,’ गाउँपालिकाका सूचना अधिकारी ऋषिराज गौतमले भने, ‘चार पाङ्ग्रेमा डिजेल खर्च हुने गरेको छ ।’

    राप्ती सोनारी गाउँपालिकाले पनि वडाध्यक्ष र कार्यपालिका सदस्यलाई मासिक २०/२० लिटर तेल दिने गरेको छ । इन्धनमा मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । गाउँपालिका प्रमुखलाई स्कर्पियो र वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध छ । गाउँपालिकाका सूचना अधिकारी दिलाराम रानाले इन्धनमा मितव्ययिता अपनाइएको दाबी गरे । गत आर्थिक वर्षभन्दा चालुमा इन्धनमा कम खर्च भइरहेको उनको जिकिर थियो ।

    जानकी गाउँपालिकाले वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीलाई मासिक २०/२० लिटर पेट्रोल छुट्याएको छ । प्रमुख र उपप्रमुखको हकमा तोकिएको छैन । आन्तरिक स्रोतबाट मासिक ७०/८० हजार इन्धनमा खर्च हुने गरेको लेखा अधिकृत दिनेशसिंह ठाकुरले बताए । ‘जनताको काममा हिँडेपछि इन्धन खर्च हुन्छ । प्रमुख र उपप्रमुखको हकमा आवश्यकताअनुसार दिने गरिएको छ,’ उनले भने ।

    कोहलपुर नगरपालिकाले जनप्रतिनिधिलाई मासिक १५ लिटर पेट्रोल दिने गरेको छ । प्रमुख र उपप्रमुखको हकमा चाहेजति छ । २३ वडा रहेको नेपालगन्ज उपमहानगरले वडाध्यक्षलाई मासिक २५ र कार्यपालिका सदस्यलाई १० लिटर पेट्रोल दिने गरेको छ ।

    प्रमुख र उपप्रमुख, प्रशासकीय अधिकृत, नगर प्रहरीलगायतका लागि चारपाङ्ग्रे सवारी साधन छन् । दर्जनौं मोटरसाइकल छन् । सूचना अधिकारी शरदकुमार पौडेलले धेरै सवारी साधन प्रयोग हुने भएका कारण इन्धनमा बढी खर्च देखिने बताए ।

    वार्षिक २ करोड
    पाल्पाका १० स्थानीय तहले इन्धन र सवारी मर्मतमा वार्षिक झन्डै २ करोड रुपैयाँ विनियोजन गरेका छन् । २ नगर र ८ गाउँपालिका छन् । गतवर्ष धेरै तहले गाडी भाडामा गरेको खर्चबराबर यस पटक इन्धनमा छुट्याएका छन् । तिनाउ गाउँपालिकाले गत वर्ष गाडी भाडामा १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो ।

    यस वर्ष आफ्नै गाडी खरिद गरिसकेको छ । इन्धनमा ११ लाख रुपैयाँ विनियोजन गरेको छ । साथै, गाडी भाडाका लागि १० लाख र मर्मतमा ५ लाख रुपैयाँ छुट्याइएको छ । रिब्दीकोट गाउँपालिकाले इन्धनमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । मर्मतका लागि १० लाख रुपैयाँ छुट्याएको छ । विविध खर्चका लागि १५ लाख रुपैयाँ छ ।

    रिब्दीकोटका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले पदाधिकारी र कर्मचारीका लागि इन्धन खर्च दिने बताए । कर्मचारीलाई ५ र वडाध्यक्षलाई १० लिटर मासिक इन्धन दिने गरेको उनले बताए । माथागढी गाउँपालिकाले इन्धनका लागि १६ लाख रुपैयाँ विनियोजन गरेको छ । मर्मतका लागि ५ लाख छुट्याएको छ ।

    गाउँपालिका अध्यक्ष सन्तोष थापाका अनुसार पदाधिकारी र कर्मचारीलाई मासिक १० लिटरका दरले इन्धन खर्च दिने गरिएको छ । बगनासकाली गाउँपालिकाले पदाधिकारी र कार्यालय प्रयोजनका लागि इन्धन खर्चबापत १० लाख रुपैयाँ छुट्याएको छ । गाडी भाडाका लागि ५ लाख रुपैयाँ छुट्याएको छ । जिल्लाका तानसेन र रामपुर नगरपालिका तथा निस्दी गाउँपालिकाको पनि इन्धन खर्च र मर्मतका लागि १८ देखि २० लाख रुपैयाँ छुट्याएका छन् ।

    पूर्वखोला, रम्भा र रैनादेवी छहरा गाउँपालिकाले पनि १५ लाख रुपैयाँभन्दा बढी रकम इन्धन र मर्मतका लागि छुट्याएका छन् । रामपुरका मेयर रमणबहादुर थापा आफ्नै गाडी चढछन् । उनलाई एकमुष्ट २५ हजार रुपैयाँ मासिक दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए ।

    इन्धनमा लाखौं
    जनप्रतिनिधि आफ्नै सेवा/सुविधामा अग्रसर हुँदा प्यूठानका स्थानीय तहमा इन्धन खर्च बढेको छ । योजना अनुगमनमा भन्दा प्रमुख/उपप्रमुखले व्यक्तिगत काममा गाडी दुरुपयोग गर्दा खर्च बढेको हो । जिल्लामा आउने संघीय र प्रदेश सांसदले स्थानीय तहका गाडी प्रयोग गर्छन् ।

    झिमरुक गाउँपालिकाबाहेक ८ वटै स्थानीय तहले गाडी किनेका छन् । झिमरुकले गाडी भाडामा लिएको छ । त्यसैले गाडी भाडा र इन्धनमा धेरै खर्च छ ।

    प्यूठान नगरपालिकाले गत आर्थिक वर्षमा ५ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च गरेको थियो । यस वर्ष मोटरसाइकल र गाडी थपिएकाले मासिक १ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च भइरहेको लेखापाल दुर्गा पौडेलले बताए । नगरपालिकाका गाडी, टिपर, जेसीबी, दमकललगायतलाई कार्यालयबाट तेलको कुप्पनमार्फत खर्च हुने गरेको छ ।

    गतवर्ष स्वर्गद्वारी नगरपालिकाले २ लाख ५३ हजार ७ सय ८२ रुपैयाँ इन्धनमा खर्च गरेको थियो । माण्डवी गाउँपालिकाले ६ लाख रुपैयाँ खर्च गर्‍यो । गतवर्ष गौमुखी गाउँपालिकाले ३ लाख १२ हजार ६ सय ६८ रुपैयाँ, सरुमारानी गाउँपालिकाले ५ लाख ३७ हजार ६ सय ६८ रुपैयाँ इन्धनमा खर्च गरेका थिए ।

    मल्लरानी गाउँपालिकाले २ लाख ६५ हजार ३ सय ६२ रुपैयाँ खर्च गरेको थियो । यस वर्ष आफ्नै गाडी भएको र बढी कुदेका कारण इन्धनमा खर्च बढ्ने प्रशासकीय अधिकृतहरू बताउँछन् । नौबहिनी गाउँपालिकामा हरेक महिना २५/३० हजार रुपैयाँ इन्धनमा खर्च हुने गरेको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । जिल्लाका ९ वटा स्थानीय तहमध्ये ऐरावती गाउँपालिकाले सबैभन्दा कम १ लाख ५ हजार ८ सय ८५ रुपैयाँ गत वर्ष इन्धनमा खर्च गरेको थियो ।

    खर्च गर्न तँछाडमछाड
    दाङका स्थानीय तहबीच गाडी चढ्ने तँछाडमछाडले इन्धनमा खर्च बढिरहेको छ । एउटा गाडीका लागि चालक, इन्धन र मर्मतका नाममा मासिक ४० हजार रुपैयाँ खर्च भइरहेको छ । जिल्लाका १० स्थानीय तहले गाडी किनेका छन् ।

    नगरपालिकाका प्रमुख/उपप्रमुखका छुट्टाछुट्टै गाडी छन् । गाउँपालिकामा एउटै गाडीमा अध्यक्ष र उपाध्यक्ष चढ्ने गरेका छन् । कतिपय उपाध्यक्षले मोटरसाइकल र स्कुटर प्रयोग गरिरहेका छन् । वडाध्यक्षलाई मोटरसाइकलको व्यवस्था छ ।

    जिल्लाका स्थानीय तहमा एक वर्षमा गाडी र मोटरसाइकल खरिदमा ७ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । ती गाडीमा मासिक ५ लाख २० हजार इन्धन खर्च हुने गरेको छ । निर्वाचित भएको एक वर्षमा एक गाउँपालिकाले गाडी खरिद, सञ्चालन र मर्मतका लागि ६६ लाख र नगरपालिकाले १ करोड ३० लाख खर्चेका छन् ।

    जनप्रतिनिधिले स्थानीय तहको विकास बजेटबाट महँगा गाडी खरिद गरी चढ्न थालेपछि नागरिकले यसको विरोध गरिरहेका छन् । जनताको काम गर्न निर्वाचित जनप्रतिनिधिले विलासितामा जोड दिन थालेको उनीहरूको गुनासो छ । स्थानीय तहको आम्दानीको स्रोत नभए पनि उनीहरूले गाडीमा भने मनपरी खर्च गरिरहेका छन् । नगरपालिकामा पहिलेदेखि नै गाडी भए पनि थप नयाँ गाडी खरिद गरिएको छ ।

    गाडी खरिद, मर्मत र इन्धनको सबै खर्च विकास बजेटबाटै व्यवस्थापन गरिएको छ । दिनमा २ हजार ५ सयसम्म इन्धन खर्च हुने गरेको शान्तिनगर गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताए । ‘विकट पहाडी भेग छन्, दौडधुप धेरै हुन्छ,’ उनले भने, ‘गाडी नचढी हुँदैन । दैनिक आवश्यक काममा मात्र गाडी प्रयोग हुन्छ ।’

    भाडामा गाडी चलाउँदा दैनिक ५ हजारसम्म खर्च हुने गरेको दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताए । विकट क्षेत्रमा यातायातको सुविधा नभएकाले इन्धन खर्च भए पनि गाडी चढ्नुपर्ने बाध्यता रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले बताए । बंगलाचुलीले यस वर्ष दुईवटा नयाँ बोलेरो गाडी खरिद गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology