काठमाडौंको भयावह ट्राफिक जाम : व्यवस्थापन गर्ने कसरी ?

ट्राफिक प्रहरीसँग न अधिकार छ न पैसा,  पम्प्लेट छाप्न समेत संघसंस्था गुहार्नुपर्छ !
काठमाडौं उपत्यकाको ट्राफिक जाम कुनै नौलो र अनौठो कुरा होइन । अनौठो र उदेकलाग्दो कुरा चाहिँ यो दशकौंदेखि कायम र जारी छ । उपत्यकाको जनजीवनलाई यसले अत्यन्तै कष्टकर र  बेलाबेलामा त अस्तव्यस्त नै बनाउने गरेको छ । तर पनि यसको समुचित समाधान खोज्ने र व्यवस्थापन गर्ने काम अझै हुन सकिरहेको छैन । यस्तो लाग्छ मानौं, ट्राफिक जाम शहरवासीको दैनिक जीवनको अभिन्न हिस्सा नै बनिसकेको छ । हुँदा हुँदा त अहिले आएर जेसुकै कारणले कतै समयमा पुग्न सकिएन भने पनि बहाना चाहिँ ‘ट्राफिक जाम’ भन्ने थेगा जस्तै नै बनिसकेको छ ।
यस आलेखमा काठमाडौंको ट्राफिक जामलाई के कसरी समाधान र व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्दर्भमा केन्द्रीत रहेर केही विमर्श–मन्थन गर्ने कोशिस गरिएको छ ।

ट्राफिक जामको भयावह चित्र

आउनुहोस्, सबैभन्दा पहिले काठमाडौं उपत्यकामा ट्राफिक जाम र त्यससँग जोडिएका अव्यवस्थापनको भयावह चित्रलाई साक्षात्कार गराउने केही तथ्यहरुबाट आलेखलाई अगाडि बढाऔं ।

० रत्नपार्क–टुँडीखेल वरिपरीको सड्कको लम्बाई दुई किलोमिटर ७२ मिटर छ । त्यहाँ घण्टौं जाम हुन्छ ।

० रत्नपार्कतर्फ गाडी जाने नाकामध्येको कोटेश्वरबाट रत्नपार्कको दुरी ५ किमी ८९ मिटर छ । जावलाखेलबाट ४ किमी ७६६ मिटर, गौशालाबाट ३ किमी ३५६ मिटर छ । पुरानोबानेश्वर, नारायणगोपाल चोक, बालाजु र कालिमाटीबाट पनि ३ देखि ४ किलोमिटर छिचोल्दै हजारौं सवारीहरु दैनिक रत्नपाक–टुँडीखेलतर्फ आवतजावत गर्छन् ।

० रत्नपार्क एरियामा एक मिनेटमा १४२ वटा सवारी साधन चल्छन्, अनि दैनिक करिब ५ लाख मान्छेहरु ओहोर–दोहोर गर्छन् । प्रतिमिनेट १४२ वटा गाडी–मोटरसाइकल गुड्ने रत्नपार्क क्षेत्रको सुन्धारा, न्युरोड गेट, सिंहदरबार र नारायणहिटी दरवार संग्रहालय अगाडि ५२ वर्षअघि राखिएको ट्राफिक लाइटको अहिले नामोनिशाना छैन् ।

आज काठमाडौं उपत्यकाको ट्राफिक जामको विकराल समस्याको केन्द्र त्यही रत्नपार्क–टुँडीखेल भएको छ ।

० काठमाडौं उपत्यकाभित्र दैनिक १० लाख सवारी साधन गुड्छ । पछिल्लो समय सिन्डीकेट हटेपछि उपत्यकामा ७६२ वटा ठुला बसहरु थपिए । ठुला बस त थपियो तर साना गाडी हटेन ।

थप भएका २८ देखि ३२ फिटका ती गाडीले २१ किलोमिटर सड्क ढाक्छ । अर्थात्, सबै गाडीहरुलाई एकैलाइनमा एकैसाथ राख्ने हो भने, रत्नपार्कबाट बनेपासम्म लाइन पुग्ने गरी पछि थपिएका गाडीहरु चलिराखेका छन् ।

० सड्क हरेक समस्याहरुको समाधान खोज्ने थलो बन्दै गएको छ । जायज–नाजायज मागहरुलाई पूरा गराउने नाममा, स–सानो निहुँ वा बहानामा पनि जुलुस निकाल्ने र धर्ना बस्ने काम सडकमै हुँदा स्वभाविक रुपमा जाम बढेको छ ।

० कार्यालय समय एउटै भएको हुनाले पनि जामको समस्या बढ्दै गएको छ । संघ–संस्था, बैंक तथा सरकारी कार्यालय सबैको कार्यालय समय १०–५ बजे तोकिएको छ । सबैलाई १० बजे कार्यालय पुग्नैपर्ने हुनाले बिहान ९:३० देखि १०:१५ सम्म सवै गाडी उपत्यकाभित्र केन्द्रीत भएर आउँछ, । अधिकांश कार्यालयहरु काठमाडौंको केन्द्रीय भाग वरिपरि नै अवस्थित छ ।

० भोज भतेर हुने बैंक्वेट र पार्टी प्यालेसहरुका कारण पनि जाम बढेको छ । भोज भतेर गर्ने त्यस्ता बैंक्वेट र पार्टी प्यालेसहरु ट्राफिक व्यवस्थापनको दृष्टिकोणले बिनायोजना, जथाभावी र अस्तव्यस्त रुपमा खुलेका छन् । त्यस्ता पार्टी प्यालेसहरुले भोज भतेर त गराउँछन् तर उनीहरुसँग पर्याप्त पार्किङ हुँदैन । उदाहरणको लागि, अधिकांश बैंक्वेट, पार्टी प्यालेसको क्षमता ५० ओटा गाडी पार्किङ गर्नसक्ने मात्र हुन्छ, तर भोजमा ४ सय बढी सवारी साधनहरु आउँछन् । नअटेका गाडीहरुको पार्किङ गर्ने ठाउँ सार्वजनिक बाटो बन्न पुग्छ ।

० काठमाडौं उपत्यकाको भक्तपुरमा बाहेक अन्यत्र ट्राफिक लाइट चालु हालतमा नै छैन । सर्वेन्द्र खनाल ट्राफिक महाशाखा प्रमुख हुँदा बानेश्वरमा एकपटक ट्राफिक लाइट सञ्चालनमा आएको थियो । त्यसले जेनतेन काम गरिरहेको छ ।
हातले इशारा गरेर ट्राफिक ब्यवस्थापन गर्नु भनेको हामीले औंलामा गनेर हिसाव गरेजस्तै हो । ट्राफिक लाइट भनेको क्याल्कुलेटर हो । ट्राफिक लाइटमार्फत् सवारी व्यवस्थापन गर्न सकेमा बढीमा ९० सेकेण्डमा पालो आउँछ । अहिले एउटै चोकमा आधाघण्टा कुर्नुपर्ने अवस्था छ ।
० सडकमा भौतिक पूर्वाधारको कमी छ । डिभाइडर र ट्राफिक लाइटको समस्या त छँदैछ, त्यसमाथि थप ढलको उचित व्यवस्थापन गरिएको छैन । कदाचित ५ मिनेटमात्रै दर्के झरी पर्यो भने पनि शहरका मुख्य मुख्य सडकचोकहरुमा पानी जमेर अस्तव्यवस्त हुन पुग्छ । त्यसले २ घण्टा बढी ट्राफिक जाम हुन पुग्छ ।

० अढाइ तीन घण्टाको फिल्म हलमा आनन्दले हेरेर बस्ने फुर्सद हामीमा हुन्छ । तर हलबाट बाहिर निस्कनेबित्तिकै हामीलाई जस्तो हतार कसैलाई हुँदैन । सबैलाई आफ्नो सवारी साधन हाँकेर गइहाल्ने हत्तारो हुन्छ । त्यसले अनिवार्य रुपमा निम्त्याउने परिणति भनेको फेरि पनि जाम नै हो । फिल्म छुटेपछि हलक्षेत्रको आसपासमा हुने ट्राफिक जाम र त्यो जामले शहरका अन्यत्र क्षेत्रमा समेत पार्ने असरबारे हामी खासै संवेदनशील बन्दैनौं ।

ट्राफिकको हात र सिठ्ठीको भर

गज्जबै भन्नुपर्छः काठमाडौं, ललितपुर दुई महानगरपालिका र भक्तपुर एकनगरपालिका गरी तीन विकसित नगरहरु समेतलाई समेटेर बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अहिले ट्राफिकको हातको इशारा र सिठ्ठीको भरमा भइरहेको छ ।

आइल्याण्डमा बसेर हात हल्लाइरहेको ट्राफिक प्रहरीको उचाइ जम्माजम्मी सातफिटसम्म मात्र हुन्छ । त्यो हात केही परसम्मबाट मात्र प्रष्ट र सजिलो रुपमा देखिन्छ । ठुला गाडीको पछाडि आएका मोटरसाइकल र साना गाडीहरुले त नजिकै भए पनि छेलिएको कारण ट्राफिकको हात नै देख्दैनन् । ट्राफिक लाइट भएको भए त्यो ३० फिटसम्म हाइटको हुन्थ्यो । त्यो लाइट त्यस क्षेत्रमा गुड्ने सबै सवारी साधनहरुले सजिलै देख्न सकिने खालको हुन्थ्यो ।

बसले छेक्यो, पछि आएको सवारी साधानभन्दा अगाडिको साधन अलिकति मात्रै ठूलो भयो भने पनि दिउँसै ट्राफिकको हात देखिँदैन, छेलिन्छ । झन रातको समयमा र पानी परेको बेलामा समस्या हुन्छ । अनि, हात नदेखेको निहुँमा झगडा शुरु हुन्छ । यसरी कति दिन चल्छ ?

हातले इशारा गरेर ट्राफिक ब्यवस्थापन गर्नु भनेको हामीले औंलामा गनेर हिसाव गरेजस्तै हो । ट्राफिक लाइट भनेको क्याल्कुलेटर हो । ट्राफिक लाइटमार्फत् सवारी व्यवस्थापन गर्न सकेमा बढीमा ९० सेकेण्डमा पालो आउँछ । अहिले एउटै चोकमा आधाघण्टा कुर्नुपर्ने अवस्था छ । त्यसैले काठमाडौं उपत्यकाको जाम हटाउन ट्राफिक लाइटको व्यवस्था हुनु जरुरी छ ।
सडकका बीचमा कर्तव्य निर्वाह गरिरहेका ट्राफिक प्रहरीलाई जस्तै ठूलाबडाका लागि सडक क्लियर गर्नैपर्ने बाध्यता त्यो ट्राफिक लाइटलाई हुँदैन । त्यहाँ यातायातको प्रणाली समान रुपमा लागू हुन्छ, किनभने निर्जीव ट्राफिक लाइटका लागि को ठूलाबडा, को सर्वसाधारण कुनै फरक पर्दैन ।
अहिले जहाँ जाम छ, त्यहाँ ट्राफिकले तान्छ । चाप कम भएकोलाई तान्दैन । त्यसो गर्नु ट्राफिक प्रहरीको बाध्यता हो । तर त्यसको मार सवारी साधन र त्यसमा सवारले भोग्नुपर्छ । केही मिनेटमै पार गराउन सकिने चोक नाकाहरुमा लामो समयसम्म कुर्नुपर्ने विडम्बनापूर्ण अवस्था सवारीकर्ताले बाध्यतात्मक रुपमा भोग्नैपर्छ ।
ठूलाबडालाई फाइदा

ट्राफिकको हातबाट सवारी व्यवस्थापन गर्दा ठूलाबडाहरुले बढी फाइदा लिएका छन् । ठूलाबडाहरुको गाडी आएपछि ट्राफिकले त्यो रुटमा छिटो तान्ने चलन छ, तान्न बाध्य बनाइन्छ । त्यही स्थानमा ट्राफिक लाइट हुने हो भने सबै कुरा स्वचालित रुपमा चल्न थाल्नेछ । सडकका बीचमा कर्तव्य निर्वाह गरिरहेका ट्राफिक प्रहरीलाई जस्तै ठूलाबडाका लागि सडक क्लियर गर्नैपर्ने बाध्यता त्यो ट्राफिक लाइटलाई हुँदैन ।  त्यहाँ यातायातको प्रणाली समान रुपमा लागू हुन्छ, किनभने निर्जीव ट्राफिक लाइटका लागि को ठूलाबडा, को सर्वसाधारण कुनै फरक पर्दैन । त्यसको नतिजा राम्रो हुनेछ । जनताले वास्तविक रुपमै महसूस गर्न थाल्नेछन्–  भन्न थाल्छ, ट्राफिक नियम सवैका लागि समान हुन्, सबैले मानेका छन्, सबैले मान्नुपर्छ ।
जापानको अनुभव

विकसित देशमा सही ढंगले ट्राफिक व्यवस्थापन हुन सक्नुको मुख्य कारण नै ‘ट्राफिक लाइट’ को सही उपयोग हो । त्यसको एउटा उदाहरण म यहाँ प्रस्तुत गर्न चाहन्छु । म जापान ट्रेनिङमा जाँदा चोक, नाका गल्लीहरु सर्वत्र आवश्यकताअनुसार मनग्गे ट्राफिक लाइटको व्यवस्था गरिएको देखिन्थ्यो । कतिसम्म भने त्यहाँ, गति नियन्त्रण गर्न भनेरै छोटो छोटो दूरीमा ट्राफिक लाइट राखिएको देखिन्थ्यो । त्यसको राम्रो नतिजा के हुन्थ्यो भने, कुनै सवारी तीब्र गतिमा आयो भने रातो बत्ती बलिदिन्थ्यो । फलतः तीब्र गतिमा सवारी साधनहरु चल्नै सक्तैनथ्यो, तिनका चालकहरुले गति आफैं नियन्त्रित गर्न बाध्य हुन्थ्यो । फलतः दुर्घटना स्वतः निषेध हुन पुग्थ्यो, बटुवाहरुले निर्धक्क बाटो काट्न पाउँथे ।

प्लानिङ कम

सवारी व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन अध्ययन गरेर कार्यान्वयन गर्नुपर्छ । अहिलेसम्म दीर्घकालीन अध्ययन खासै भएको छैन । हल्ला सवैले गर्छन् तर प्लानिङ खासै केही छैन ।

अहिलेको स्थिति हेर्दा यस्तो लाग्छ, मानौं सड्क व्यवस्थापनको  जिम्मा ट्राफिकले मात्रै लिएको छ । सड्क विभाग र यातायात ब्यवस्था विभागले ट्राफिक व्यवस्थापनका लागि भौतिक पूर्वाधार निर्माणको काम गर्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन ।  ३ प्रतिशत अधिकारको बलमा १ सय प्रतिशत ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यतामा छ ट्राफिक प्रहरी ।  एउटा पम्प्लेट छाप्ने पैसासमेत ट्राफिकसँग छैन । सचेतना कार्यक्रमका लागि कुन संघसंस्थाले पर्चा छापिदेला भनेर खोज्दै हिँड्नुपर्छ ।
३ प्रतिशत अधिकारको बलमा १ सय प्रतिशत ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यतामा छ ट्राफिक प्रहरी । एउटा पम्प्लेट छाप्ने पैसासमेत ट्राफिकसँग छैन । सचेतना कार्यक्रमका लागि कुन संघसंस्थाले पर्चा छापिदेला भनेर खोज्दै हिँड्नुपर्छ
उपत्यकाको ट्राफिक जामको अर्को कारण मुख्य ब्यापारिक केन्द्र एकै क्षेत्रमा केन्द्रित भइरहेको छ । नयाँ नयाँ सपिङ्ग कम्प्लेक्सहरु न्युरोड, दरबारमार्ग र ठमेल एरियामा खुलिरहेका छन् । त्यसबाहेक, अन्य ठाउँहरुमा पनि त्यस्ता सपिङ्ग कम्प्लेक्सहरु खुल्ने क्रम बढ्दो छ ।

ब्यापारिक प्रतिष्ठानहरु यत्रतत्र बढ्दो छ, तर तिनीहरुको आफ्नो आवश्यकताअनुसारको पार्किङ छैन । केन्द्रीय सरकारी अस्पतालको रुपमा राजधानीको मुटुमै अवस्थित वीर अस्पतालमा मान्छेको भीड अत्यधिक हुन्छ तर त्यहाँ पार्किङ छैन । बिरामी ल्याउने वा जँचाउन आउनेले गाडी कहाँ राख्ने ? यो एउटा उदाहरण मात्रै हो । राजधानीका केन्द्र केन्द्रमा खुलेका, नाम चलेका अस्पतालहरुको नै व्यवस्थित पार्किङ्ग छैन, सडकमा पार्किङ्ग गर्छन् ।

त्यस्ता अफिस, व्यापारिक प्रतिष्ठानहरु खोल्न दिनुअघि तिनको कार्यप्रकृति के हो ? त्यसअनुसार चाहिने पार्किङको क्षमता के हो ? त्यहाँ कतिजना मान्छेहरु आउँछन् ? आवश्यकतअनुसार पर्याप्त पार्किङ्गको व्यवस्था गरेको वा गर्न सक्छ कि सक्दैन भन्ने कुरा अध्ययन गरेर मात्र स्वीकृत गर्नु पर्दैन ?

काठमाडौं उपत्यकामा सार्वजनिक गाडी, निजी गाडीहरु थपिने क्रम वर्षेनी बढ्दो छ । सडकको उपलब्धता र त्यसले धान्न सक्ने सवारीको संख्याको बारेमा नसोचिकन त्यसरी सार्वजनिक गाडी र निजी गाडी थप्दै जाँदा काठमाडौंको सडकले धान्नै सक्दैन भन्ने कुराको पटक्कै हेक्का राखिएको छैन । थाहा नपाउनु एउटा कुरा हो, तर थाहा पाएर पनि यो सन्दर्भमा आँखा चिम्लिएको जस्तो स्थिति देखिन्छ । २०४८ सालमा जम्मा ४८ हजार ६ सय ४२ वटा गाडी थियो । अहिले आएर उपत्यकामा मात्र सवारी साधनको संख्या ११ लाख ९७ हजार पार भएको छ । काठमाडौं उपत्यकाले धान्न सक्ने जनसंख्या, त्यसको लागि चाहिने सवारी संख्या, सवारीको चापलाई कम गराउने उपाय र विधिहरुको बारेमा अध्ययन, चिन्तन, मनन गर्न ढिलो भइसकेको अवस्था छ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology