मजदूर संगठन प्रदेश १ का अध्यक्ष गौरी लामा पक्राउ

प्रहरीले नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्रदेश नम्बर १ का अध्यक्ष गौरी लामालाई पक्राउ गरेको छ।

मजदूर संगठनका नेता कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई बिहिबार बिहान इटहरीमा समातेको हो।

लामालाई स्वतन्त्र मजदूर संगठन इटहरीका कोषाध्यक्ष सुरज थापालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

लामासँगै ज्ञानेन्द्र राई पनि पक्राउ परेका छन्। इटहरी धरान लाइनमा रहेको बस स्टेण्डमा लामा र राईले थापालाई कुटपिट गरेका थिए। कुटपिटबाट थापाको अनुहार र घाटीमा चोट लागेको छ। उनको एपेक्स अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार खाँदबारी–चैनपुर चल्ने सवारी काउण्टरमा बसेका थापासँग लामा पैसा उठाउन गएका थिए। लामाले दुई हजार पैसा मागेको र नदिएपछि कुटपिट गरेको थापाले बताएका छन्।

थापाले आफूलाई ज्यान मार्ने गरी योजनावद्ध रूपमा आक्रमण गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा लामा र राईविरूद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology