रोजगारीका लागि शून्य लागतमा कतार जान पाउने भए नेपाली श्रमिक

काठमाडौं । पछिल्लो समय नेपाली श्रमिकहरुको गन्तव्य मुलुकका रुपमा रहेको कतारमा नेपाली श्रमिकहरु शून्य लागतमा जान पाउने भएका छन् ।
कतार रोजगारीका लागि जान १ लाख देखि ३ लाखसम्म बुझाउँदै आएका श्रमिकहरु अब नयाँ प्रकृयामार्फत शून्य लागतमा जान पाउने भएका हुन् ।
बुधबार र बिहिबार कतारको दोहा स्थित नेपाली र कतारका केही अधिकारीहरु बीच नयाँ श्रम सम्झौताका विषयमा छलफल भएको थियो ।

नेपाल सरकारले कतारमा नेपाली श्रमिकहरु शून्य लागतमा सामाजिक सुरक्षाको ग्यारेन्टी सहित जान पाउने माग राख्दै आएको थियो ।
बिहिबार दुई देशका अधिकारीहरु बीच भएको छलफल पछि कतार सरकार नेपाली श्रमिकहरुलाई शून्य  लागतमा लैजान सकारात्मक देखिएको जनाइएको छ ।

दुईपक्षिय छलफलको विषयलाई विस्तृतरुपमा श्रम सम्झौतामा नै नखुलाउन कतारको प्रस्ताव छ। उसले दुई देशको प्राविधिक समितिमा प्रस्ट पार्नु पर्ने शर्त राखेको छ।

नेपाल र कतारबीच यसभन्दा अगाडी सन् २००५मा समेत श्रम सम्झौता भएको थियो । तर त्यसबेलाको श्रम सम्झौता विस्तृतमा नभएकाले यसपटक विस्तृत र श्रमिकहरुका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी सहित हुनुपर्ने नेपाल सरकारले अडान राखेको छ ।

कतारले आन्तरिक छलफल गर्ने
नयाँ श्रम सम्झौताको कार्यान्वयनका लागि कतार सरकारले आन्तरिक छलफलबाट  निश्कर्ष निकालेपछि मात्रै दुई देशबीच श्रम सम्झौताका विषयमा टुंगो लाग्ने बताएको छ ।

कतारी पक्षले नेपालले प्रस्ताव गरेका विषयको विसतृत अध्ययन र आन्तरिक छलफल आवश्यक भएको भन्दै त्यसपछि मात्रै आफ्नो तर्फबाट जवाफ दिने बताएको छ।

नेपालले श्रमिकको न्युनतम तलबमा वृद्धि, २४ घण्टे बीमा, न्यायमा सहज पहुँचको व्यवस्था, लगायतका प्रस्तावसहितको मस्यौदा कतारलाई बुझाएको छ। कतारले तोकेको न्युनतम तलब ७ सय ५० र २ सय रियाल खाना वापत गरी ९ सय ५० रियाल अहिलेको महँगी अनुसार कम भएको भन्दै नेपालले बढाउनुपर्ने प्रस्ताव गरेको छ ।

नेपालले राखेको प्रस्तावमा कतार सकारात्मक देखिएपनि श्रम सम्झौताकै बुँदामा यी सबै विषयहरु स्पष्ट खुलाउन भने कतार तयार नरहेको मन्त्रालय स्रोतले बताएको छ ।

कतार भिसा सेन्टर काठमाडौंमा 
केही समय अगाडी काठमाडौंमा राख्ने कि नराख्ने भन्ने विवादित बनेको कतार भिसा सेन्टर काठमाडौंमा राखिने भएको छ ।

यस्तै कतारले काठमाडौँमा सञ्चालन गर्ने तयारी गरेको भिसा सेन्टरको बारेमा नेपाली टोलीले गम्भीर चासो राखेको छ। बिहीबार त्यहाँको गृहमन्त्रालयमा पुगेर भिसा सेन्टरको कानूनी हैसियत, श्रमिकले ब्यहोर्नु पर्ने खर्च र सञ्चालन प्रक्रियाका बारेमा जिज्ञासा राखेको छ।

भिसा सेन्टर कतार सरकारले विभिन्न देशमा सञ्चालनमा ल्याएको र यो निजी क्षेत्रबाट सञ्चालन हुने कतारले जानकारी गराएको छ।

नेपाली टोलिले भिसा सेन्टर पहिले नेपालको कानूनि दायरामा आउनु पर्ने र त्यसलाई नेपाल सरकारले नै नियमन गर्न पाउनु पर्ने माग गरेको छ।

सूरुमा कतारले नेपालको सरोकारको विषय नहुने बतएपनि पछि नेपालको ऐन नियमको दायरामा ल्याएर सञ्चालन गर्न तयार भएको छ। आफ्नो दायरामा आएपछि मात्रै भिसा सेन्टर सञ्चालनका विषयमा नेपालले निर्णय गर्ने नेपाली टोलिले बताएको छ।

तीन वर्ष पछि भएको दुई देशका अधिकारीहरुको बैठकमा श्रमिकलाई सहज न्यायमा पहुँचका
विषयमा पनि छलफल भएको छ। नेपालले समस्या आइलाग्दा कानूनि उपचार खोज्न श्रमिकलाई अप्ठेरो पर्ने गरेको र यसलाई सहज बनाउन प्रस्ताव गरेको छ।

पुनः श्रम स्वीकृतिको विषयमा कतारले चासो दिएपछि नेपालले सम्बन्धित देशमा रहेका कुटनीतिक नियागबाटै निश्चित समयका लागि पुन श्रम स्वीकृति दिने जानकारी दिएपछि कतारले खुशी व्यक्त गरेको छ।

१४ वर्ष पहिले भएको श्रम सम्झौता चाँडै पुनरावलोकन गर्न दुवै देशले तत्परता देखाएका छन्। कतारलाई आवश्यक गृहकार्य गरेर छिट्टै टुंगोमा पुग्न भनेको छ। अबको बैठक नेपालमा हुने र कुटनीतिक नियोग मार्फत मिति तय गर्ने सहमति भएको छ।

श्रम सम्झौता पुनरावलोकनका विषयमा छलफल गर्न ५ सदस्यीय नेपाली टोलि गत सोमबार दोहा प्रस्थान गरेको थियो । टोलीमा श्रम मन्त्रालयका सहसचिव सँगै, कानून मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक र श्रम मन्त्रालयका शाखा अधिकृत सहभागी छन्।

 

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology