जनता सक्रिय भए आफ्नो ठाउँको विकास आफैं गर्न सकिन्छ: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनता सक्रिय भए आफ्नो गाउँको विकास आफैं गर्न सकिने बताएकी छन्।

प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर पुनर्निर्माण सकिएको अवसरमा बिहीबार मन्दिरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकार र जनताबीचको सहकार्यबाट छोटो समयमा मन्दिरको जीर्णोद्धार सकिएको बताइन्।

‘जनता सक्रिय भएमा आफ्नो स्थानको विकास आफैं गर्न सकिन्छ भन्ने उदाहरण यो मन्दिर पुनर्निर्माणले देखाएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकार र जनताबीच सहकार्यको एउटा ज्वलन्त नमूनासमेत यो मन्दिर पुनर्निर्माण हो।’

मन्दिर पुनर्निर्माणमा करिब १४ करोड लगानी भएको छ। सरकारले चार करोड उपलब्ध गराएको थियो भने अरु रकम भक्तजनबाट संकलन गरिएको थियो।

राष्ट्रपति भण्डारीले मन्दिर निर्माणमा सघाएका चन्दादाता तथा स्थानीय बासिन्दालाई धन्यवादसमेत दिएकी छन्।

मनकामना मन्दिर नजिकका अन्य सम्पदा तथा धार्मिक स्थललाई समेटेर बृहत धार्मिक केन्द्र बनाउन सके रोजगारीको अवसरसमेत सिर्जना हुने उनले बताइन्।

मन्दिर क्षेत्रको सरसफाइ र भक्तजनलाई थप सेवा सुविधा दिन सके राम्रो हुने उनको भनाइ छ।

मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिर पुनर्निर्माणमा सघाउने चन्दादाताहरूलाई पनि सहयोग गरेको छ।

मनकामना केबलकार सञ्चालकहरू राजुबाबु श्रेष्ठ, राजेशबाबु श्रेष्ठ, मन्दिर पुनर्निर्माणमा इँटा सहयोग गर्ने काठमाडौंका हीराकाजी महर्जनलगायतलाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी हुन्।

सो अवसरमा राष्ट्रपतिले मनकामना माइ पुस्तक लोकार्पण गरेकी थिइन्।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology