‘विप्लव’विरुद्ध सरकार सक्रिय

काठमाडौं, फागुन २३ । अर्धभूमिगतरुपमा पार्टी सन्चालन गर्दै आएको नेकपा ‘विप्लव’विरुद्ध सरकार सक्रिय भएर लागेको छ ।

राजनीतिक गतिविधि गर्दै आएका विप्लव र उनका कार्यकर्ता बम विस्फोट, गैरकानुनी हतियारजस्ता अपराधमा संलग्न हुँदै गएपछि सरकारमाथि उनलाई कारबाही गर्नुपर्ने दबाब बढ्दै गएको थियो ।

ललितपुरस्थित एनसेलको कार्यालयअगाडि बम विस्फोट र त्यसमा परेर एकजनाको ज्यान गएपछि आतंककारी गतिविधि भन्दै सदन र सडकमा कारबाहीको माग उठेको थियो ।

यसअघिपनि निर्वाचनका बेला बम विस्फोट हुँदा एकजना म्यादी प्रहरीको ज्यान गएपछि नेकपा विप्लवका गतिविधिमा सरकारले निगरानी बढाएको थियो ।

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले पनि यस्ता गतिविधि नसहने भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।

गृहमन्त्री थापाले संसदीय समितिमा नै एनसेलअगाडिको विस्फोट नेकपा विप्लवका कार्यकर्ताले गरेको भन्दै कारबाहीको उद्घोष गरेका थिए ।

फागुन २१ गते झापा पुगेका प्रधानमन्त्री ओलीले पनि कम्युनिस्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न चेतावनी दिँदै कम्युनिस्ट पार्टीको नाममा जनता मार्ने, लुट मच्चाउने, चन्दा असुल्ने र विस्फोट गराउने कार्य सह्य नहुने बताएका थिए ।

सोहीबमोजिम अहिले सरकारले देशभरि नै विप्लवका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।

विप्लवका नेता–कार्यकर्ताको सूक्ष्म अनुगमन गर्ने तथा कुनै गलत गतिविधि गरेको पाइए धरपकड गर्ने काम पनि सरकारले गरिरहेको छ ।

अहिलेसम्मका सरकारले नेकपा विप्लवका धेरै नेता–कार्यकर्तालाई हिरासतमा लिइसकेको छ ।

तीनै नेता–कार्यकर्ताको रिहाइको माग गर्दै बिहीबार नेकपा विप्लवले आह्वान गरेका राप्ती बन्दकाक्रममा पनि सरकारले सक्रियता बढाएको छ ।

सरकारले नेकपा नेता विप्लवलगायत उनका धेरै नेता–कार्यकर्ताको घरमा छापा मारेको छ ।

छापा मार्नेक्रममा भाग्दै गरेका विप्लव कार्यकर्ता दुर्गाबहादुर रोकालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

विप्लवका गतिविधि बढ्दै जाँदा जनताले विगतको द्वन्द्वको आभास गर्दै यस्ता गतिविधिलाई तुरुन्त नियन्त्रणमा लिन सरकारलाई आह्वान गरिरहेका थिए भने संसदमासमेत समयमै नियन्त्रण गर्न नसके द्वन्द्वको ज्वाला बल्ने चेतावनी सांसदहरुले दिइरहेका छन् ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology