(Video)संबिधानबिध भिमार्जुन आचार्यको अतीत बिमोचन

बिनिता शर्मा , काठमाडौं । २०७५-१२-२३

शनिबार आचार्यको चौथौं एल्बम ‘अतीत’ को विमोचन कार्यक्रममा अधिकारीले पुराना कुरा खोलिदिए- केही पहिला पर्यटन बोर्डको हलमा एल्बम सार्वजनिक गर्दा भीमार्जुनले पारिवारिक उल्झनको कारण लुकेर रेकर्डिङ गरेको बताएका थिए

अब भीमार्जुनलाई गाउन लुक्नु पर्दैन। । श्रीमती निर्मलाले मुख्य पेशा वकालत छाडेर अन्यत्र मोडिन लागेको भनेर आचार्यलाई सम्झाएकी रहेछन्।

अब भिमार्जुनलाई गित गाउन कुनै समस्या परिवारबाट नहुने देखियो छोरा र श्रीमति निर्मला पनि उनका फ्यान बनिसकेका छन् ।

त्यो प्रसंग अधिकारीले शनिबार अतीत विमोचनमा खोलेपछि हलभरि हाँसो गुञ्जियो। भीमार्जुनका मुख लाजले रातै भए। अरुबेला संविधानका धाराका बहस गरेर नथाक्ने भीमार्जुन शनिबार भिन्नै माहोलमा देखिएका थिए। नाम पनि भिन्न थियो-अर्जुन मिलन। साहित्य, संगीत र गजलप्रेमीमाझ उनी यही नामले चिनिँदा रहेछन्।

काठमाडौं कालिकास्थानस्थित सर्वनाम थिएटरमा कवि, गीतकार, संगीतकार मात्रै होइन, नामी फौजीहरू पनि भेला भएका थिए। पूर्वआइजिपी उपेन्द्रकान्त अर्याल, पूर्वआइजिपी कुवेर राणा, पूर्वडिआइजी रमेश खरेल र बहालवाला एसएसपी धिरजप्रताप सिंह।

कार्यक्रम भीमार्जुनका गजल ‘अतीत’को विमोचन र गायन प्रस्तुती थियो। मञ्चबाट वरिष्ठ कवि, गीतकार कालीप्रसाद रिजाल, गीतकार दिनेश अधिकारी, वरिष्ठ लोक गायक नारायण रायमाझी, प्राध्यापक डाक्टर सनतकुमार वस्ती, प्रा. नारायण नेपाल, संगीतकार सन्तोष श्रेष्ठले आचार्यका गजल संग्रह विमोचन गरे।

 

त्यसपछि मञ्चमा पलेँटी कसेर बसे भीमार्जुन आचार्य।

सुरू गरे एकल प्रस्तुती।

फूललाई दुख्यो होला तिमी चर्किंदा,

रुखो प्यास हो धर्तीको माटो थर्किंदा

नारायण नेपालका शब्द र यादव योगीका संगीतमा आचार्यले सुमधुर स्वरले यो गजल गाए।

छोटो-छोटो शेर गाएका उनले समय अभावलाई कारण देखाएर छ वटै गजल गाएका थिए। उनले गाएको दोस्रो गजल आफ्नै स्वर, संगीत र शब्दको थियो।

मौनताको सहरमा हल्ला चलेको छ,

हरदम किन-किन जीवन साह्रै गलेको छ।

यो गजल गाएर रोकिन नपाउँदै दर्शकले भने- ‘वान्स मोर’। आचार्यले फेरि गाए- मौनताको सहरमा हल्ला चलेको छ….। किरण खरेलको शब्द र अर्जुन मिलन आफ्नै संगीतमा रहेको तेस्रो गजल यस्तो थियो-

एकान्तमा आँशु बन्दै झर्ने बानी बसिसक्यो,

सास फेर्दा फेर्दै पनि मर्ने बानी बसिसक्यो।

सनतकुमार वस्तीका शब्द र दीपक जंगमका संगीतलाई टपक्क टिपेर आचार्यले गाएको चौथौं प्रस्तुती यस्तो थियो-

ओठ तिम्रै गजल गुनगुनाइरहोस्,

जति बिर्से पनि याद आइरहोस्।

कानुनका ठेली पल्टाएर व्याख्या गर्ने आचार्य माया पिरतीका कुरा गर्दै अघि बढे।

 

उनका ओठले गजल गुनगुनाइरहे भने हार्मोनियमबाट मधुर संगीत दिइरहेका थिए। आचार्यलाई इजलासमा जस्तो विपक्षी वकिलको सामना त गर्नु परेको थिएन। तर उनी समयसँग सामना गर्दै थिए। उनले पुगनपुग एक घण्टामा गाएका गजलमध्ये ‘अतीतसँग आफूलाई’ले धेरैको मन जित्यो। ताली आयो।

अतीतसँग आफूलाई साट्न पाए हुन्थ्यो,

हिजोको त्यो एउटा साथी भेट्न पाए हुन्थ्यो।

सबैले आफ्ना हिजोका साथी सम्झिएका बखत आचार्यले सुनील कोइरालाको शब्द र महेश खड्काको संगीतमा रहेको जीवनको सार सुनाइदिए यसरी-

जीवनको सार बल्ल मिल्दैछ,

सुस्त-सुस्त बाँच्ने आधार बल्ल मिल्दै छ।

मौलिक स्वरका धनी आचार्यलाई गीतकार कालीप्रसाद रिजालले दिएको सल्लाह छ-

गाइरहनु, लेख्न नछोड्नु। किनभने नेपाली साहित्य क्षेत्रलाई अर्जुन मिलनको खाँचो छ।

आचार्य स्कुल पढ्दाताकादेखि नै साहित्यिक क्षेत्रमा रुची राख्दथे। ‘२०४९ सालमा पहिलो गीत रेकर्ड गराएको थिएँ। २६ वर्षको दौरानमा चौथों एल्बम ल्याएँ। अब राष्ट्रिय गीत निकाल्नेछु,’ थौरै बोलेका आचार्यले भने, ‘गम्भीर प्रकृतिका गजल गाउन मनपर्छ।’ कालीप्रसादलाई आचार्य मन पर्नुको कारण यही हो- गम्भीर प्रकृतिका गायन।

हिजोआजका गायन बजारमा चल्ने खालका मात्रै हुने गरेको टिप्पणी कालीप्रसादले गरे।

‘दाइ, बजारमा चल्ने खालका गजल, गीत छैनन् भनेर माग्नुहुन्छ,’ उनले भने, ‘देशलाई छुने, गम्भीर प्रकृतिका गीत कसले गाउँछ? बल्ल आचार्य भेटेँ।’

उनले पुराना कुरा फेरि कोट्याए- ‘आँखा छोपी नरोउ भनी भन्नु पर्या छ’ नारायण गोपालले त्यसबेला गाएको यो गीत अहिले भए रेकर्ड गराउन मुश्किल पर्थ्यो। बजारले चल्ने गीत मात्रै खोज्न थाल्यो, गम्भीर गीत बुझेन।

लामो समय एकै घरमा कोठा गरी बसेका गीतकार नारायण रायमाझीले भीमार्जुनका अतित नजिकबाट बुझेका रहेछन्। ‘दाङबाट काठमाडौं आउँदा भीमार्जुनले किताब, कापीसँगै हार्मोनियम पनि ल्याएका थिए। कोठामा बसेर बजाइरहन्थे,’ रायमाझीले भने, ‘हिजोको त्यो एउटा साथी (हार्मोनियम) भेट्न पाए हुन्थ्यो।’

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology