कठिन छ नेपालको विश्वकप यात्रा, नेपालले सबै जित्नैपर्छ, युएइले एउटा हार्नैपर्छ

काठमाडौं। २०२० अण्डर १९ विश्वकपमा छनोट हुने उद्देश्यसहित नेपाली अण्डर १९ क्रिकेट टोली अहिले मलेसियामा छनोट खेल खेल्दैछ । अहिलेसम्मको परिणामअनुसार नेपालको विश्वकप यात्रा निकै कठिन मोडमा पुगेको छ । नेपालको यात्रामा बाधा ल्याउने सबैभन्दा ठूलो कारण वर्षा हो । शनिबार भएको युएइविरुद्धको खेलको बीचमा पानी परेपछि डकवर्थ लुइस मेथडमा जाँदा युएइले एक रनले जितेपछि नेपालको यात्रा अत्यन्तै कठिन भएको हो ।

नेपालले आज आफ्नो तेस्रो खेलमा जीत हात पारेको छ । उता युएइले लगातार तेस्रो खेल जितेको छ । हिजोसम्म अंक तालिकाको शीर्ष स्थानमा रहेको कुवेत आज युएइसँग विशाल अन्तरले हारेपछि तेस्रो स्थानमा झरेको छ । युएइ सबै खेल जित्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । ३ मध्ये २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । कुवेतको पनि ४ अंक नै छ तर उसको नेट रनरेट कम भएकोले तेस्रो स्थानमा छ ।

यो प्रतियोगितामा शीर्ष स्थानमा रहने टिम मात्र विश्वकप खेल्न पाउनेछ त्यसैले अब नेपाल विश्व्कपमा पुग्नको लागि अंक तालिकाको शीर्ष स्थानमा पुग्नै पर्छ । अंक तालिकाको शीर्ष स्थानमा पुग्नका लागि नेपालले अब बाँकी सबै खेल जित्नै पर्छ । नेपालले सबै खेल जितेर मात्र पुग्दैन, युएइले बाँकी २ खेलमध्ये कुनै एक खेल हार्नुपर्छ । यदि यस्तो भयो भने अंक बराबरी भए पनि नेट रनरेटको आधारमा नेपाल विश्वकप पुग्न सक्छ किनकि प्रतियोगितामा नेपालको नेट रनरेट सबैभन्दा उच्च छ । हेर्नुहोस् अहिलेसम्मको अंक तालिका (यो तालिका बन्दासम्म ओमन र सिंगापुरको खेल सकिएको छैन । पहिलो इनिङको खेल हेर्दा ओमानले जित्ने सम्भावना उच्च छ ।)

अब नेपालले भोलि ओमानसँग र बिहीबार कुवेतसँग खेल्दैछ । नेपालले यी दुवै खेल जितेमा नेपालको अंक ८ हुन्छ । उता युएइले भोलि सिंगापुर र बिहीबार ओमानसँग खेल्नेछ । उसले यी दुवै खेल जितेमा उसको १० अंक हुनेछ र ऊ सिधै विश्वकप पुग्नेछ । तर, यदि युएइले यी दुईमध्ये कुनै एक खेल हारेमा भने नेपालले दुवै खेल जितेको अवस्थामा नेपाल विश्वकप पुग्नेछ । किनकि यस्तो अवस्थामा युएइको अंक पनि ८ हुनेछ र नेपालको नेट रनरेट सबैभन्दा उच्च हुनेछ ।

विश्वकप पुग्ने प्रतिस्पर्धामा नेपाल, युएइ, ओमान र कुवेत छन् । मलेसिया र सिंगापुरको विश्वकप पुग्ने सम्भावना छैन र बाँकी खेल उनीहरुको लागि प्रतिष्ठाको लडाइँ मात्र हो । यदि नेपालले बाँकी दुवै खेल जितेमा प्रतिस्पर्धामा रहेका दुई टिम ओमान र कुवेत प्रतिस्पर्धाबाट बाहिरिनेछन् किनकि उनीहरु नेपालसँगै खेल्न बाँकी छ र नेपालसँगै हार्नुपर्नेछ । यस्तो अवस्थामा नेपाल विश्वकप पुग्न युएइले बाँकी २ खेलमध्ये कुनै एक खेल हार्नैपर्छ र नेपालले दुवै खेल जित्नैपर्छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology