मङ्लबार, चैत्र ६, २०८० | Tuesday 19th March 2024

ट्याक्सी चढ्ने हो? इजीट्याक्सी नेपाल एप्स मार्फत बोलाउनुस्, घरमै आउँछ ट्याक्सी

  • प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६



  • काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पछिल्लो दिनमा प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै मोबाइल एप्समा आधारित सेवा दिने भएको छ।

    उपत्यकाका ५ हजार भन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा शुरु गर्ने भएको छ।

    समाजले मोबाइल एप्स इजीट्याक्सी नेपाल मार्फत वैशाख दोस्रो सातादेखि परिक्षणकोरुपमा एप्समा आधारित हुँदै ट्याक्सी सेवा दिने भएको हो।

    उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको छ। समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा संचालन गर्न कठिन रहेको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको र सो आधारमा ट्याक्सी भाडा समायोजन गरेपछि हुने नयाँ मिटर भाडा दरमा नै एप्समा आधारित भएर सेवा संचालन गर्ने उल्लेख गरेको छ।

    हाल काठमाडौं उपत्यकामा मात्र संचालन गरिने इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ। यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा देखिने रियलटाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ।

    यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सीचालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन्। इजी ट्याक्सी नेपाल एप्समार्फत यात्रुले लगइन गरेर अनुरोध गरेको ५ मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्नेछ।

    उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘नेपालमा ट्याक्सी र चालकलाई निकै हेप्ने गरिन्छ तर हामी पनि यहि समाजका नागरिक हौं, त्यसैले हामीले यात्रुको सुविधालाई ध्यानमा दिँदै प्रविधिमैत्री ट्याक्सी सेवा संचालन गर्न लागेका हौं।’

    सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने उनले स्पष्ट पारे। हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिटै डिजिटल वालेट मार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा आउनेछ।

    यात्रुले इजी ट्याक्सी नेपालको वेबसाइट मार्फत पनि यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन्। उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी सेवालाई नकारात्मक रुपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधिको आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको बताएको छ।

    उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ), ले काठमाडौंको ट्याक्सी सेवालाई भरपर्दो, यात्रुमैत्री र प्रविधियुक्त बनाएर नयाँ ढंगले अगाडि जाने योजनासाथ एप्स संचालन गरेको बताए।

    ‘पुरानो तरिकाले यात्रुलाई सेवा दिनेभन्दा पनि इजी ट्याक्सी नेपाल एप्समार्फत पारदर्शिरुपमा सेवा दिँदा हाम्रोपनि सम्मान हुने र यात्रु पनि खुशी हुने विश्वास लिएका छौं,’ महासचिव मोक्तान (तामाङ) ले भने।

    इजी ट्याक्सी नेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरु दर्ता हुनेछन भने यात्रुले दिउँसो र राती दुबै सिफ्टमा सेवा प्राप्त गर्नेछन्।

    त्यसैगरि यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको बीमा गरिएको छ।

    काठमाडौं उपत्यकाभर आफ्नो सेवा संचालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज विसं। २०७५ सालदेखि संगठितरुपमा सक्रिय रहेको छ। यसले ट्याक्सी सेवालाई बिकृति मुक्त बनाउने, चालकहरुलाई जिम्मेबार बनाउने र ट्याक्सी सेवालाई भरपर्दो र विश्वसनीय बनाउन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ट्याक्सी धनी, ट्याक्सी चालक र नागरिक समाजसँगको सहकार्यमा विभिन्न कार्यक्रम तथा गतिबिधिहरु गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology