अमेरिकामा पक्राउ पर्दैनन् प्रचण्ड, यसकारण पुलिसले पक्रने होइन विशिष्ट सम्मान गर्नेछ

काठमाडौं। पत्नी सीताको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अमेरिकामा उजुरी परेको छ । तर, उजुरी परे पनि उनी अमेरिकामा पक्राउ भने पर्ने छैनन् । उनी अमेरिकामा पत्नी सीताको उपचार गराएर सकुशल नेपाल फर्कनेछन् । यस क्रममा उनलाई अमेरिकी पुलिसले पक्राने छैन बरु उल्टै सम्मान गर्नेछ ।

तत्कालीन नेकपा (माओवादी)मा रहँदा प्रचण्डले युद्ध अपराध गरेको भन्दै अमेरिकामा उजुरी परेको छ । दाहालविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेका हुन् । श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका हुन् । ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए। पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ ।

पश्चिमा मुलुकहरुले युद्ध अपराध वा आतंकवादी क्रियाकलापमा संलग्न भएको आरोप लागेको व्यक्तिलाई आफ्नो देशमा प्रवेश निषेध गर्न सक्ने कानुन त्यहाँ छ । त्यहाँको कानुनअनुसार अमेरिकाले प्रचण्डलाई पक्राउ गर्न र त्यहाँको कानुन अनुसार कारबाही गर्न सक्ने व्यवस्था छ । तर, यो कानुनी व्यवस्था हुँदाहुँदै पनि प्रचण्ड भे पक्राउ पर्ने छैनन्, न त उनलाई कतै लुकेरै बस्नुपर्नेछ । किनकि नेपालस्थित अमेरिकी दुतावासले उनको लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर गरिसकेको छ ।

अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरिएको छ । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगायत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गर्छ । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलरपछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूतावासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology