कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

चैत ४ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय गरिएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए।

फागुन १२ मा बसेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सदस्यले चुनाव लड्न नपर्ने गरी विधानमा राख्ने निर्णय गरेको थियो।

महासमिति बैठक र जिल्ला सभापतिको मागविपरीत सभापति शेरबहादुर देउवा समूहले बहुमतको आडमा एकलौटी ढंगले विधान बनाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले लिखित असमति राखेका थिए।

अब बस्ने केन्द्रीय समिति बैठकले अनुशासन समिति गठन गर्ने चर्चा छ।

पाँच सदस्यीय अनुशासन समितिमा पौडेल समूहले दुई सदस्य मागेका छन् भने सिटौला समूहले एक जना मागेको छ।

पौडेल र सिटौला मिलेर तीन सदस्य लिने र देउवा पक्षलाई अल्पमतमा पार्ने रणनीति लिएको स्रोतको दाबी छ। तर देउवा पक्ष आफूहरू अल्पमतमा पर्ने गरी पौडेल, सिटौलाले मागेअनुसार सदस्य दिन तयार छैन।

कांग्रेसले भातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनमा पनि निर्णय गर्न सकेको छैन। १२ औं महाधिवेशन गर्न नसकेपछि सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ। विधान अनुसार ३२ वर्षे उमेरहद लगाउनुपर्ने र तदर्थ समिति बनाउँदा उमेर हद लगाउन नहुने पक्ष नेविसंघभित्र छ।

सभापति देउवा पक्ष पेलेरै अघि बढ्ने देखिएको भन्दै पौडेल, सिटौला पक्ष सामूहिक धारणा बनाएर जाने तयारीमा छन्।

पौडेल, सिटौलासहित पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा मंगलबार र बुधबार छलफल पनि भएको थियो। महासमितिको निर्णयअनुसार अघि बढ्न नेतृत्वलाई दबाब दिने पक्षमा पौडेल, सिटौला समूह छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology