Space for Ads 1200px * 150px

वैदेशिक रोजगारीमा महिला श्रमिकका योगदान र चुनौती

काठमाडौं। नेपाली महिला श्रमिक विश्वका विभिन्न मुलुकमा श्रम गर्नका लागि सक्रिय रुपमा जान थालेका छन्। लैंगिक आधारमा पुरुष सरह महिला श्रमिकले काम गर्न सक्दैनन् भन्ने पुरातनवादी सोचलाई चिर्दै महिला श्रमिकले पुरुष सरह वैदेशिक रोजगारीमा आफ्नो अमूल्य योगदान पुर्याएका थुप्रै उदाहरण छन्।

विभिन्न तथ्यांकहरु हेर्दा अन्तर्राष्ट्रिय रुपमा श्रम गर्न विश्वका विभिन्न मुलुक पुगेका नेपाली महिला श्रमिकको विदेशबाट प्राप्त हुने कुल रेमिट्यान्सको ११ प्रतिशत हिस्सा ओगटेका छन्।

केही समय अगाडि चुलोचौकामा सीमित हुने नेपाली महिला श्रमिकले वैदेशिक रोजगारीमा गएर राज्यको कुल गार्हस्थ उत्पादनमा टेवा पुर्याउनु भनेको निकै उत्साहजनक कुरा हो।

धेरै समय अगाडि देखि नै महिला श्रमिक अन्तर्राष्ट्रिय रुपमा विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि जाने गरे पनि नेपाल सरकारले भने आर्थिक वर्ष २०६३ देखि ०६४ सालदेखि मात्रै औपचारिक रुपमा रोजगारीमा जाने महिलाको तथ्यांक राख्न सुरु गरेको छ।

त्यो भन्दा अगाडि कति महिला वैदेशिक रोजगारीमा गए भन्ने तथ्यांक नै सरकारसँग छैन। अझैपनि वैदेशिक रोजगारीमा वैधानिक रुपमा गएका महिलाको संख्यामात्रै सरकारसँग छ। वैदेशिक रोजगारीमा पुगेर कति महिला श्रमिक फर्किए, कति महिलाले विदेशबाट फर्किएर नेपालमा उद्यम गरिरहेका छन् सो तथ्यांक सरकारसँग छैन्।

वैदेशिक रोजगार विभागको तथ्यांकमा आर्थिक वर्ष २०६३/०६४ देखि ०७४/०७५ सम्म ४५ लाखभन्दा बढी मानिसहरु वैदेशिक रोजगारीमा गएकामा झण्डै २ लाख महिला वैदेशिक रोजागारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका छन्।

आर्थिक वर्ष २०६३/०६४ देखि ०७४/०७५ सम्म ४५ लाखभन्दा बढी मानिसहरु वैदेशिक रोजगारीमा गएकामा झण्डै २ लाख महिला वैदेशिक रोजागारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका छन्

पुरुषको तुलनामा महिला श्रमिक वैदेशिक रोजगारीमा कम सहभागी भएता पनि महिला श्रमिकले राष्ट्रको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा निकै महत्वपूर्ण योगदान पुर्याएका छन्।

वैदेशिक रोजगारीका क्षेत्रमा विभिन्न समस्यामा पर्ने महिला श्रमिकका क्षेत्रमा लामो समयदेखि संघर्षरत महिला अधिकार कर्मी तथा पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ महिला श्रमिकले वैदेशिक रोजगारीमा गएर देशका उत्पादनमूलक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताउँछिन्।

विभिन्न अध्ययनमा महिला श्रमिकले विदेशबाट कमाएर ल्याएको पैसा अनुत्पादक क्षेत्रमा खर्च भएको बताइरहँदा उनी भने यसमा सहमत छैनन्।
अध्यक्ष गुरुङ भन्छिन्, ‘कुनै चुलोचौकामा सीमित महिला जब परिवारको लागि संघर्ष गर्न वैदेशिक रोजगारीमा जान्छिन्, उनलले कमाएर ल्याएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दिक्षा, पालन पोषणमा खर्च भइरहेको छ भने यसलाई कसरी अनुत्पादक क्षेत्रमा लगानी भएको भन्न मिल्छ?’

आर्थिक समस्याका कारण मलेसिया, कतार, साउदी, ओमान, बहराइन, इजरायल, युएईलगायत विभिन्न खाडी मुलुकमा रोजगारीका लागि जाने महिलाको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यस्तै युरोप अमेरिका लगायतका मुलुकमा समेत गएर महिला श्रमिकहरुले पुरुष सरह अन्तर्राष्ट्रिय स्तरमा श्रम गरिरहेका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) की प्रतिनिधि नेहा चौधरीले विश्वका विभिन्न देशमा रहेर महिला श्रमिकको योगदानबाट राज्यमा उल्लेखनीय सहयोग पुगेको बताइन्। सरकारले वैदेशिक रोजगारीमा जाने महिला श्रमिकलाई पेशागत सीप र भाषागत दक्षतामा जोड दिनुपर्ने र सामाजिक सुरक्षाको ग्यारेन्टी सहित पठाउनु पर्नेमा उनले जोड दिइन्।

नेपालका विभिन्न ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका महिला, एकल महिला तथा परिवारको सम्पूर्ण जिम्मेवारी आफैँले बहन गर्नुपर्ने अवस्था भएका महिला श्रमिक नेपालमा सोचेजस्तो काम र कमाई नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ। नेपालका सिन्धुपाल्चोक, काभ्रे, धादिङ, मकवानपुरलगायत उपत्यका आसपासका जिल्लाबाट थुप्रै महिला श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन्।

खाडी लगायत मुलुकमा रोजगारीका लागि जाने प्रायः महिला अदक्ष र अर्धदक्ष मात्रै छन्। यस्तो अवस्थामा वैदेशिक रोजगारी निकै चुनौतीपूर्ण बन्न पुगेको छ। रोजगारीका लागि आवश्यक सीप, दक्षता र भाषाको ज्ञान नहुँदा सस्तो मूल्यमा अमूल्य श्रम चुकाउन बाध्य छन्। त्यस्तै थुप्रै महिला श्रमिक विदेशमा रोजगारीका क्रममा शारीरिक तथा मानसिक शोषणमा पर्ने गरेका छन्।

नेपाली महिला श्रमिक खाडीलगायतका मुलुकमा जाँदा समस्यामा परेको भन्दै सरकारले घरेलु कामदारका रुपमा खाडी मुलुक जान रोक लगाएको छ तर सरकारले वैधानिक बाटोबाट महिलाकामदार वैदेशिक रोजगारीमा जान रोक लगाएसँगै अवैधानिकबाटो भारतको रुट हुँदै वैदेशिक रोजगारीमा जान बाध्य छन्। नेपालमा रोजगारीको ग्यारेन्टी नहुँदा वैदेशिक रोजगारीमा जानै पर्ने नेपाली महिला श्रमिकको बाध्यता नै हो।
पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ भन्छिन्, ‘रोजगारीमा जाने महिलाको ढोका थुनेपछि झ्यालबाट जानै पर्यो नि।’

औपचारिक तवरबाट वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरु भन्दा यसबेला अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको संख्या बढ्दै गइरहेको महिला तथा बालबालिका का क्षेत्रमा काम गर्दै आइरहेको संस्था एटविनकी अध्यक्ष अन्जना शाक्य बताउँछिन्।

सरकारले महिला श्रमिकलाई घरेलु कामदारका रुपमा जान रोक लगाउनु मात्रै सबै समस्याको समाधान गर्नु नभएकाले महिला श्रमिकका गन्तव्य मुलुकसँग सरकारले सामाजिक सुरक्षाको ग्यारेन्टीसहित महिला श्रमिकका लागि सम्मानजनक वातावरण सिर्जना गर्न जोड दिनुपर्ने सरोकारवालाहरु बताउँछन्।

अन्तर्राष्ट्रिय जगतमा सन् १९१० मार्च ८ मा अमेरिकाको न्यूयोर्कस्थित गार्मेन्टमा कामगर्ने महिलाहरुले आफ्नो हकहितका लागि मालिक विरुद्ध आवाज उठाएर आन्दोलनमा उत्रिएका थिए। त्यसै दिनदेखि हरेक वर्षको मार्च ८ मा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउने चलन कायम नै छ।
अन्तर्राष्ट्रिय स्तरमा नै महिलाहरुका हकहितलाई सम्मानजनक रुपमा लैजानुपर्ने सम्पूर्ण सरोकारवालाहरुले जोड दिँदै आएका छन्।

महिला र पुरुषबीच समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्यूयोर्कमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरुप ग्रहण गरेको आज १०६ वर्ष पूरा भएको छ। नेपाल लगायत विश्वभरी नै महिला श्रमिकहरुका हक अधिकारका कुराहरु उठाइएका छन्। नेपालको संविधानले महिला श्रमिकहरुको हकहितका धेरै कुरा समेटेपनि कार्यान्वयनमा भने सुधार आउन सकेको छैन।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology