Space for Ads 1200px * 150px

प्रतिबन्ध हटे पनि वनडे टिममा परेनन् स्मिथ र वार्नर, विश्वकप खेल्न नपाउने खतरा

सिड्नी। १ वर्षको लागि लगाइएको प्रतिबन्धको समयसीमा सकिएर सबै खेल खेल्न योग्य भए पनि अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ र र उपकप्तान डेभिड वार्नर अस्ट्रेलियाको एकदिवसीय टिममा पर्न असफल भएका छन् । क्रिकेट अस्ट्रेलियाले पाकिस्तानविरुद्ध हुने पाँच खेलको सिरिजका लागि घोषणा गरिएको टिममा उनीहरु दुवै छैनन् ।

यद्यपि टिममा परेको भए पनि उनीहरु पाँचवटै खेल खेल्न भने पाउँदैनथे । उनीहरुको प्रतिबन्ध २८ मार्चबाट सकिँदैछ त्यसपछि मात्र उनीहरु खेल्नका लागि योग्य हुनेछन् । तर, त्यतिबेलासम्म ३ खेल सकिएर २ खेल मात्र बाँकी रहनेछन् । अन्तिम २ खेल मात्र खेल्न पाउने भएकोले उनीहरुलाई टिममा नराखिएको समेत अनुमान गरिएको छ । तर, विश्वकपको ठिक अगाडिको सिरिजमा उनीहरु टिममा नपर्दा उनीहरुको विश्वकप खेल्न पाउने सम्भावनासमेत खतरामा छ ।

अस्ट्रेलियाका टिम छनोटकर्ता ट्रभोर होन्सले दुवैका लागि आइपिएल राष्ट्रिय टिममा फर्कने बाटो हुन सक्ने प्रतिक्रिया दिएका छन् । प्रतिबन्ध हट्नासाथ उनीहरु आइपिएल खेल्न पाउनेछन् । आइपिएलमा वार्नर सनराइजर्स हैदराबाद र स्मिथ राजस्थान रोयल्समा आबद्ध छन् । प्रतिबन्ध लाग्नुपूर्व यी दुवै आइपिएलमा आ–आफ्नो टिमका कप्तान थिए । अहिले फर्किंदा उनीहरुले पुनः कप्तानको जिम्मेवारी पाउँछन् वा पाउँदैनन् भन्ने हेर्न बाँकी नै छ ।

गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचका क्रममा क्यामरन बेन्क्राफ्टले बल टेम्परिङ गरेको टिभी फुटेजमा देखिएको थियो । सो कार्य कप्तान स्मिथ तथा उपकप्तान वार्नरसमेतको छलफलमा सुनियोजित रुपमै अघि बढाइएको भन्दै उनीहरुलाई अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेल्न नपाउनेगरी प्रतिबन्ध लगाइएको थियो । ९ महिना प्रतिबन्ध लगाइएका बेनक्राफ्टको प्रतिबन्ध भने डिसेम्बरमै सकिएको छ ।

पाकिस्तानविरुद्ध आरोन फिन्चको कप्तानीमा टिम घोषणा गरिएको छ । टिममा उस्मान ख्वाजा, शन मार्स, पिटर ह्यान्सकम्ब, ग्लेन म्याक्सवेल, अस्टन टर्नर, मार्कोस स्टोइनिस, एलेक्स कारी, पाट कमिंस, नथान कुल्टल नाइल, जे रिचार्डसन केन रिचार्डसन, जासन बेरेनडोर्फ, नाथान लियोन र एडम जाम्पा छन् ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology