पाँचथर: जिल्लाका चारै सुरक्षा निकायका प्रमुख घटनास्थलमा, शवलाई धरान लैजाने तयारी

काठमाडौं । पाँचथरमा गएराति भएको ९ जनाको हत्याको विषयमा अनुसन्धान गर्न जिल्लाका चारै सुरक्षा निकायका प्रमुख घटनास्थलमा पुगेका छन् । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ भने सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली पनि अनुसन्धानको लागि घटनास्थलमा पुगीसकेको छ ।

घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता हुन सक्ने आशंका गरिएको छ । मृत्यु भएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर मोखिमले नरसंहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपि मोखिमको पनि घटनास्थलबाट झण्डै डेढ घण्टाको दूरीमा झुण्डिएको अवस्थामा शव भेटिएको छ ।

मानबहादुरको ससुराली परिवारसँग सम्बन्ध राम्रो थिएन । यही विवादका कारण हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई त्यतैतिर केन्द्रित गरेको छ । दुई परिवारको ९ जनाको हत्या गरिएकोमा एक बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । सीताले प्रहरीलाई दिएको बयानमा एक जना मात्र नकाबधारी आएको र ढोका खोल्नासाथ आक्रमण गरेको बताएकी थिइन् । उनले प्रहरीलाई आक्रमणकारीको हुलिया समेत बताएकी थिइन् । उनले बताएको हुलिया झुण्डिएको अवस्थामा शव भेटिएका मानबहादुरसँग मिल्छ ।

मृतक ९ जनाको पोष्टमार्टमका लागि धरानस्थित विपिकोइराला विज्ञान प्रतिष्ठानमा लैजाने तयारी भएको छ । आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई भएको बताइएको छ । आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारीले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । सीता पनि आक्रमणबाट घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको छ भने उनको उपचारका लागि फिदिम ल्याइएको छ ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology