नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च

डोटी। जिल्लाका नौ वटा स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झण्डै रु ११ करोड खर्च गरेका छन्। स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैत महिनासम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ रुपैयाँ गाडी खरिदमा खर्च गरिएको छ।

गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ। यो गाउँपालिकाले दीपायल सिलगढी नगरपालिका भन्दा रु १ करोड ६० लाख ६८ हजार १६३ रुपैयाँ बढी खर्च गाडी खरिदमा गरेको छ।

धेरै सवारीसाधन खरिद गर्नुपर्दा खर्च पनि गाउँपालिकाको भन्दा नगरपालिकाको धेरै हुनुपर्ने हो तर, डोटीमा त्यसको उल्टो देखिएको छ। नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरिदसमेत बढी गरेका छन् । जिल्लाका अधिकाँश स्थानीय तहसँग एक्साभेटर र डोजरहरु छन्। कतिपय किन्ने तयारीमा छन् तर, डोजर प्रयोगको नीतिनियम पालना भएको छैन।

पूर्वीचौकी गाउँपालिकाले २०७४ साउनदेखि २०७५ चैतसम्मको अवधिमा रु २ करोड ६७ लाख ५५ हजार ६५२ रुपैयाँ विभिन्न सवारी साधन खरिदमा खर्च गरेको छ। दश मोटरसाइकल खरिदमा रु २४ लाख ९७ हजार २०० रुपैयाँ खर्च भएको छ । त्यस्तै, रु ३७ लाख २० हजारमा पिकअप जीप, रु १ करोड २३ लाख ६२ हजार ४५० रुपैयाँमा एक्साभेटर खरिद गरिएको छ। यसैगरी, रु ८१ लाख ७६ हजार रुपैयाँमा दुईवटा बस पनि गाउँपालिकाले किनेको छ।

त्यसैगरी, शिखर नगरपालिकाले रु १ करोड ५४ लाख २९ हजार ३०० रुपैयाँ खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ। दुई वटा नगर बसमा रु ५६ लाख ६० हजार, टिपरमा रु ३८ लाख ६९ हजार, जीपमा रु ३६ लाख ९५ हजार, ८ वटा मोटरसाइकलमा रु २० लाख २६ हजार ४०० र एउटा स्कुटरमा रु १ लाख ७८ हजार ९०० रुपैयाँ खर्च भएको देखिएको छ।

दीपायल सिलगढी नगरपालिकाले रु १ करोड ६ लाख ८७ हजार ४८९ रुपैयाँ खर्चेर गाडी खरिद गरेको छ। यस नगरपालिकाले रु ३४ लाख ८ हजार ६५० रुपैयाँमा १५ मोटरसाइकल खरिद गरेको पाइएको छ। त्यस्तै, दुई नगर बसमा रु ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा रु १६ लाख ३८ हजार ८८४ रुपैयाँ र सक्सनम ट्यांकमा रु ४ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।

पूर्वीचौकी गाउँपालिका, शिखर नगरपालिका र दीपायल सिलगढी नगरपालिकाले समान दुई–दुई वटा बस खरिद गरेका छन्। तर, पूर्वीचौकी गाउँपालिकाले दीपायलको भन्दा बसमा रु २९ लाख ८६ हजार रुपैयाँ बढी खर्च गरेको देखिएको छ। दीपायल सिलगढी र शिखर नगरपालिकाले खरिद गरेका बसको मूल्यमा रु ४ लाख ७० हजार रुपैयाँ अन्तर देखिन्छ।

गाडी खरिदको खर्चमा बडीकेदार गाउँपालिकाले पनि डोटीका दुवै नगरपालिकालाई उछिनेको छ। बडीकेदारले विभिन्न गाडी खरिदमा रु १ करोड ८१ लाख ७९ हजार १०० रुपैयाँ खर्च गरेको छ। रु १ करोड २० लाख रुपैयाँमा एउटा सडक खन्ने एक्साभेटर, रु ३८ लाख ७० हजार रुपैयाँमा एउटा पिकअप जीप र रु २३ लाख ९ हजार १०० रुपैयाँमा नौ वटा मोटरसाइकल खरिद गरिएको पाइएको छ।

सायल गाउँपालिकाले गाडी खरिदमा रु १ करोड ५६ लाख १६ हजार २०० रुपैयाँ खर्च गरेको पाइएको छ। यस गाउँपालिकाले रु ७ लाख ४६ हजार २०० मा तीनवटा मोटरसाइकल खरीद गरेको छ। यस्तै महिन्द्रा बोलेरो जीपमा रु २३ लाख ८५ हजार र एक्साभेटरमा रु १ करोड २४ लाख ८५ हजार रुपैयाँ खर्च गरेको देखिन्छ।

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरिद गरेको छ। मोटरसाइकल खरिदमा रु ३२ लाख ६९ हजार ११५ रुपैयाँ खर्च भएको छ। यस्तै, मिनि टिपरमा रु २० लाख १३ हजार २७४ रुपैयाँ र जेसिबी खरिदमा रु ४० लाख ९९ हजार ९९९ गरी जम्मा कुल रु ९३ लाख ८२ हजार ३८८ रुपैयाँ खर्च भएको देखिन्छ।

बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार ८०० रुपैयाँ गाडी खरिदमा खर्च गरेको छ। यस गाउँपालिकाले चार वटा मोटरसाइकल खरिद गरेको छ। मोटरसाइकल खरिदमा रु ९ लाख ७८ हजार ८०० रुपैयाँ खर्च भएको छ। यस्तै, जेसिबी खरिदमा रु ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जीप खरिदमा रु २३ लाख ८५ हजार रुपैयाँ खर्च भएको देखिन्छ।

उता, जोरायल गाउँपालिकाको गाडी खरिदमा अन्य स्थानीय तहभन्दा खर्च कम भएको देखिन्छ। यस गाउँपालिकाले रु ५८ लाख ३८ हजार ९९९ रुपैयाँ गाडी खरिदमा खर्च गरेको देखिन्छ। जोरायल गाउँपालिकाले दश वटा मोटरसाइकल खरिद गरेको छ जसका लागि रु २२ लाख ८ हजार ९९९ रुपैयाँ तिरिएको छ । यसैगरी, एउटा महिन्द्रा पिकअप जीपमा रु ३६ लाख ३० हजार रुपैयाँ खर्च गरिएको छ।

आदर्श गाउँपालिकाले डोटीका स्थानीय तहहरुमध्ये मोटर गाडी खरिदमा सबैभन्दा कम खर्च गरेको छ। उसको खर्च रु ५७ लाख २२ हजार ९०० रुपैयाँ देखिन्छ। चौध वटा मोटरसाइकल खरिदमा रु ३३ लाख ३७ हजार ९०० र एउटा महिन्द्रा बोलेरो जीप खरिदमा रु २३ लाख ८५ हजार रुपैयाँ खर्च देखाइएको छ।

जिल्लाका नौ स्थानीय तहमा यो डेढ वर्षको अवधिमा ९१ मोटरसाइकल भित्रिएका छन् । सबैभन्दा बढी केआईसिंह गाउँपालिकाले १७ वटा र सबैभन्दा कम सायल गाउँपालिकाले ३ वटा मात्रै मोटरसाइकल किनेका छन्।

स्थानीय तहले खरिद गरेका दुई पाङ्ग्रे सवारी साधनहरुको मूल्यमा भने एकरुपता छैन। एउटै कम्पनीको एकै मोडल र एकै क्षमताको मोटरसाइकल पनि फरक–फरक दरमा खरिद गरिएको पाइएको छ। नगरपालिका तथा गाउँपालिकामा खरिद भएका यस्ता मोटरसाइकलको दुरुपयोग भइरहेको पाइएको छ। स्थानीय तहसँग असंलग्न व्यक्तिहरुले पनि ती मोटरसाइकल चलाउने, एउटै मोटरसाइकलमा एकैपटक तीन जना चढ्न दिने र बिदाको दिन पनि सवारी साधनहरु चलाउने गरेको स्थानीय बासिन्दाको आरोप छ।

कतिपय ठाउँमा अनुमति पत्र नभएकाहरुले समेत मोटरसाइकल चलाउने गरेका छन्। स्थानीय तहका सवारी साधनहरुको प्रभावकारी अनुगमन नहुँदा जनप्रतिनिधिहरुका आफन्त र कर्मचारीका परिवारजनले विवाह, मेला र भोजभतेरमा समेत सरकारी सवारीसाधन प्रयोग गर्ने गरेको जनगुनासो छ। उता, यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहमा आवश्यक परेका कारण चाहिएका गाडी मात्रै खरिद गरेको दाबी गरेका छन्। रासस

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology