शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

नेकपा सचिवालय बैठक बुधबार

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं, साउन २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने भनिएपनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनकाअनुसार बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

    यसअघि, साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

    नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको जिकिर भएको कुरा बाहिर आएको थियो ।

    अन्य विभागको टुंगो लागेपनि स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ ।

    पार्टी एकता भएको एक वर्ष पूरा भएपनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।

    अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

    यसैगरी, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology