शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

सांसद यादवको राजिनामाः सीके राउतका लागि बन्छ त संसद यात्राको बाटो ?

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं, साउन २८ । सप्तरी जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्य नारायण यादवले एकाएक राजीनामा दिए । सभामुख कृष्णबहादुर महरासमक्ष बुझाइएको राजिनामा यादवले किन गरे भन्ने कौतूहलता देखिएको छ ।

    स्वास्थ्यको कारण देखाउँदै सोमवार राजीनामा गरे पनि भित्री खेल अरु नै हुनसक्ने आशंका पनि गरिएको छ । यद्यपि, राजिनामा फिर्ता लिन आग्रह गरिएको पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताएका छन् ।

    यादव सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसदले राजिनामाको कारण आफ्नो स्वास्थ्य अवस्था रहेको उल्लेख गरेका छन् ।

    सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले सांसद यादवको राजीनामा सभामुखसमक्ष आए पनि स्वीकृत भैनसकेको बताएका छन् । यादवको राजीनामाबारे सभामुख महराले समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासँग छलफल पनि गरेका छन् ।

    संसद नियमावलीअनुसार सभामुखले सांसदको राजीनामा स्वीकृत त गर्न सक्छन् तर यसका लागि पार्टीको पत्र कुर्ने बताइएको छ । सम्भवतः पहिलो घटना मानिएको निर्वाचित सांसदको राजीनामामा अरु के कारण हुनसक्छ भन्ने चासो भने बढेको छ ।

    यदि यादवको राजिनामा स्वीकृत गरिए, उक्त स्थानमा कसलाई जिताउन खोजिएला भन्ने चासो भने नेपाली राजनीतिमा बढेको छ ।

    देश टुक्र्याउने अभियान छाडेर मूल राजनीतिमा प्रवेश गरेका भनिएका सीके राउतलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने खेल पनि शुरु भएको बताइएको छ । यसका लागि समाजवादी पार्टी र राउतको जनमत पार्टीबीच एकता हुनसक्ने खबर पनि बाहिरिएको छ ।

    राउतलाई जेलबाट छुटाउँदै मूल राजनीतिमा ल्याउने बेलामै उनलाई संसदमा लगिने बचन दिइएको विषय उठेको थियो । सायद त्यसैका लागि यादवको राजिनामा त होइन भन्ने आशंका भने बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology