शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

प्रशासनले रोक्यो रेडक्रसको केन्द्रीय साधारणसभा, ‘रेडक्रस परिवार मर्माहित’

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं, साउन २८ । देशभरका केन्द्रीय सदस्य, ७७ ओटै जिल्लाका अधिकांश सभापति नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय वार्षिक साधारणसभामा भाग लिन काठमाडौं आइसकेको अवस्थामा अकस्मात् केन्द्रीय सभा स्थगित भएको छ ।

    मंगलबार बिहान ९ बजेदेखि काभ्रेको बनेपामा बस्ने गरी बोलाइएको केन्द्रीय सभा स्थगित गर्नुपर्दा रेडक्रस परिवार मर्माहित भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताए ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा स्थागित गर्न पठाएको निर्देशनात्मक पत्रकै कारण केन्द्रीय वार्षिक साधारणसभा स्थगित गरिएको बताउँदै अध्यक्ष थापाले भने, ‘प्रशासन कार्यालयको पत्रबमोजिम २४ घन्टाभित्र साधारणसभा स्थगित गरी त्यसको जवाफ पनि पठाइसकिएको छ ।’

    पत्रकार भेटघाटमा वितरित विज्ञप्तिमा ‘सम्पूर्ण वैधानिक र कानुनी दायित्व पूरा गरेको नेरेसोको सर्वोच्च निकायकारुपमा रहेको महाधिवेशन र वार्षिक साधारणसभा शृंखलाबद्धरुपले स्थगन गरिएको’ उल्लेख छ ।

    यसअघि, देशभरका रेडक्रसकर्मी धरान आइसकेको अवस्थामा वैशाख २२ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनात्मक पत्रका कारण वैशाख २३ देखि २५ गतेसम्मका लागि तयारी भएको ४८औं महाधिवेशन र निर्वाचन स्थगित गर्नुपरेको अध्यक्ष थापाले बताए ।

    त्यसलगत्तै सरकारले निर्वाचित समितिलाई भंग गरी तदर्थ समिति बनाएपछि रेडक्रसका निर्वाचित पदाधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    अदालतले सरकारको निर्णयविपरीत ‘निर्वाचित समितिलाई नै पूर्ववत् अवस्थामा नियमित काम गर्न दिनू’ भन्दै आदेश जारी गरेको अध्यक्ष थापाले पत्रकार भेटघाटमा प्रस्ट पारे ।

    सोहीबमोजिम नियमित काम–कारबाहीअन्तर्गत् केन्द्रीय वार्षिक साधारणसभा बोलाएर रेडक्रसको वार्षिक बजेट तथा कार्यक्रम, रणनीति र रेडक्रस कानुनको विषयमा छलफल गर्ने योजना भएपनि अदालतमा अन्तिम फैसला हुन बाँकी अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा रोक्न फेरि निर्देशनात्मक पत्र पठाएकोप्रति रेडक्रसले आपत्ति जनाएको छ ।

    ‘संस्था दर्ता ऐनबमोजिम कारबाही किन नगर्ने भनी पत्रमा उल्लेख भएकोमा हामी अझ बढी संवेदनशील भएका छौं । हामी पारदर्शी छौं । अहिले फेरि संस्थाको बार्षिक बजेट तथा कार्यक्रम, रणनीतिहरू र रेडक्रस कानुनको विषयमा छलफल गर्ने प्रयासलाई रोक्न खोजिएको छ,’ अध्यक्ष थापाले भने, ‘यसमा कुनै न कुनैखालको पूर्वाग्रह देखिन्छ । यो सम्मानित अदातलको पनि अपमान हो ।

    पत्रकार भेटघाटमा नेरेसोका महामन्त्री देवरत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रमुख हार्भेलगायत केन्द्रीय कार्यसमितिका सदस्यहरु, साधारणसभाका लागि आइपुगेका विभिन्न जिल्ला शाखाका सभापतिहरु, कार्यकारी निर्देशक उमेश ढकाल, सन्चार निर्देशक दिव्यराज पौडेललगायतको उपस्थिति थियो ।

    स्थापनाको ५६ वर्षको इतिहासमा ४७ ओटा महाधिवेशन निर्वाधरूपमा सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology