प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४
ललितपुर । ललितपुरको टौखेलस्थित जीवनशैली सुधार केन्द्रमा बस्दै आएका कोटेश्वरका पदमबहादुर पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पौडेलको शनिबार मृत्यु भएको थियो । एक्कासि बिरामी भएको भन्दै उनलाई पाटन अस्पताल पुर्याइएकोे थियो । अस्पतालमा पुर्याउँदा उनको मृत्यु भएको हो । बिरामी भएर मृत्यु भएको देखाउन खोजे पनि गम्भीर चोटका कारण उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । सुधार केन्द्रका सञ्चालक रवीन्द्र सिँजापति र सुधार केन्द्रका सुनील प्रजापतिलगायतलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
पौडेललाई १७ दिनअघि ललितपुरको टौखेलमा रहेको जीवनशैली सुधार केन्द्रमा राखिएको थियो । अधिक मात्रामा मदिरा सेवन गरेकै कारण मानसिक सन्तुलनमा समस्या देखिन थालेपछि परिवारका सदस्यले उनलाई सुधार केन्द्रमा राखेका थिए । वेलाबखत परिवारका सदस्य उनको स्वास्थ्य स्थिति बुझ्न जाने गर्थे । अवस्था सामान्य बन्दै गएको र कहिलेकाहीँ एक्लै बर्बराउनेबाहेक समस्या नभएको त्यहाँका कर्मचारीको भनाइ उद्धृत गर्दै दाजु हेमबहादुर पौडेलले बताए । तर, अचानक शुक्रबार राति परिवारका सदस्यलाई सुधारगृहबाट फोन आयो– तपाईंको मान्छे बिरामी भएर उपचारका लागि पाटन अस्पताल लगिँदै छ । ‘एक दिनअघि भेटेर आउँदा कुनै समस्या नभएको जानकारी दिएको सुधार केन्द्रले एक्कासि बिरामी भएको खबर गरेपछि हामी छाँगाबाट खसेजस्तो भयौँ,’ दाजु हेमबहादुरले भने ।
परिवारका सदस्यविना मृत घोषणा
बिरामी भएको खबर सुनेपछि परिवार शनिबार बिहान साढे १० बजे पाटन अस्पताल पुग्दा पदमबहादुरलाई अस्पतालले मृत घोषणा गरिसकेको थियो । ‘परिवारका सदस्यको उपस्थितिविना मृत घोषणा गरी शव राख्ने ठाउँमा लगेर राखिएको थियो । यो सुनियोजित छ । सुधार केन्द्रले चरम यातना दिएर अन्तिममा उपचार गर्ने बहानामा पाटन अस्पताल लगेको हो,’ दाजु हेमबहादुरले भने ।
मृतकका परिवारले पदमलाई चरम यातना दिएर अन्तिम अवस्थामा अस्पताल लगेको आरोप लगाएका छन् । ‘पाटन अस्पतालको पनि यसमा चरम लापरबाही भएको देखिन्छ,’ उनले भने, ‘जीवनशैली सुधार केन्द्रका सञ्चालक रवीन्द्र सिँजापतिसहित पाटन अस्पतालका उपचारमा संलग्न चिकित्सकलाई तत्काल कारबाही गर्नुपर्छ ।’ सुधार केन्द्रमा अहिले २७ जना बिरामी रहेको जानकारी दिँदै उनले ती सबैको अवस्थाबारे सरकारले चासो राख्नुपर्ने उनले बताए । सुधार केन्द्रका सञ्चालकसहित सशंकित व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरी प्रमुख एसएसपी ठुले राईले बताए ।
पोस्टमार्टम रिपोर्टमा के देखियो ?
पदमबहादुरको शवलाई आइतबार पोस्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज लगिएको थियो । पोस्टमार्टम रिपोर्टमा गम्भीर चोटका कारण मृत्यु भएको देखिएको छ । विभागका प्रोफेसर डा. हरिहर वस्तीले मृतक पदमको शरीरमा नीलडाम, टाउकाको पछाडिपट्टि बोधो, तर गम्भीर प्रकारको चोट रहेको र त्यही चोटका कारण मृत्यु भएको बताए । ‘हामीले हत्या गरिएको हो भन्न मिल्दैन । हाम्रो काम रिपोर्ट लेख्ने हो, त्यसमा सबै खुलाएको हुन्छ । उनको टाउकोको चोटले ब्रेनमा रगत जमेको देखियो । बढी रगत जमेका कारण उनको मृत्यु भएको हो,’ उनले भने ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij