बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

डिल्लीराम उप्रेतीः जसले विदेशमा कमाए, स्वदेशमा जमाए

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • झापा । झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार गए ।

    नौ वर्षको लामो कतार बसाइँबाट उनले राम्रै कमाए। तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो र स्वदेश फर्किए ।

    “लामो समय विदेश बसेँ, राम्रै कमाइ पनि भयो, घरजग्गा जोडेँ, परिवारको पालन पोषणमा पनि राम्रो गरेँ”, उनले भने “तर, पैसाले मात्रै कहाँ मन मान्दोरहेछ, स्वदेशको माया र यहाँको हावापानीले यहीँ कुनै इलम गरौँ सोचेर अहिले कृषि पेसा अँगालेको छु ।”

    विसं २०६९ मा रु एक लाख ५० हजारमा खरिद गरेको डी एन्ड डी प्लान्टेक फार्ममा हाल रु एक करोडभन्दा बढी लगानी भइसकेको उप्रेतीले बताए ।

    होटल म्यानेजमेन्टमा क्याटरिङ कलेज अफ मुम्बाईबाट बिएचएम गरेका उनले कृषि व्यवसायबाटै आफ्नो पहिचानसहित मनग्य आम्दानी गरिरहेका छन् ।

    मागुरमाडीस्थित उनको नर्सरी फार्म कुनै पर्यटकीय गन्तव्य नभइ देख्दा मनै लोभ्याउने आकर्षक कृषि उद्यम देख्न पाइन्छ ।

    एक बिगाहा क्षेत्रफलमा कागती, तेजपत्तासहित मलेसियन साल, टिक, पाउलेनियालगायत विभिन्न २० प्रजातिका बोटबिरुवाको नर्सरी छन् ।

    दुई लाख दाना कागती र करिब २५ हजार त्यसको बिरुवा बिक्री गरेका उप्रेतीले वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनको फर्ममा कृषि फार्ममा चारजनाले रोजगारीसमेत पाएका छन् ।

    उप्रेतीले नर्सरीसँगै गँड्यौला मल उत्पादन, तरकारीखेती पनि गर्दै आएका छन् । कृषिको अत्यन्तै ठूलो सम्भावना रहेको बताउँदै उनले भने “आफूसँग भएकै कुरालाई उपयोग गर्ने हो भने आम्दानीको धेरै स्रोत अपनाउन सकिन्छ ।”

    भर्खरै ४० मन जति काँक्रा बिक्री गरेँ, उप्रेतीले भने “खेतीमा प्रविधि मिसाउने हो भने तीनगुणाभन्दा बढी प्रतिफल लिन सकिन्छ ।”

    झापासँगै छिमेकी जिल्ला मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङसम्म उप्रेतीले हुर्काएको बिरुवाको निर्यात भइरहेको छ ।

    बिरुवा बेचिसकेपछि उनले प्राविधिक सहयोग पनि उपलब्ध गराउने गरेका छन् । “दुई वर्षसम्म त्यसको रेखदेखको जिम्मा आफैँ लिन्छु”, उप्रेतीले भने “त्यो बीचमा बिरुवा मरेमा अर्को बिरुवा उपलब्ध गराउने पनि गरिएको छ ।”

    वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार अहिले दैनिक एक हजार ५०० युवाले वैदेशिक रोजगारको बाटो रोज्ने गरेका छन् ।

    कृषिलाई आधुनिकीकरण गर्न सके आम्दानीको दरिलो स्रोत खडा गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका छन् डिल्लीराज उप्रेती ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij