प्रकाशित मिति : शनिबार, मंसिर १५, २०८१
पर्वत । नेपाली कांग्रेसको पर्वतमा १०० दिने अभियानको शुभारम्भ भएको छ । पार्टीका प्रतिनिधि केन्द्रीय सदस्य पूर्वमन्त्री गोविन्दबहादुर शाहको प्रमुख आतिथ्यमा अभियान शुभारम्भ भएको थियो ।
अभियान शुभारम्भ कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आन्तरिक र बाह्य शक्तिहरूले अहिलेको व्यवस्थालाई ढालेर देशमा अस्थिरता ल्याउन खोजेको बताए ।
नेपाली कांग्रेसले यस्ता चुनौतीहरू विगतबाट नै भोग्दै आइरहेको भन्दै नेपालका कम्युनिस्ट पार्टीहरूको चुनौती कांग्रेसले नै बोकिरहेको अध्यक्ष गुरुङको भनाइ छ ।
नयाँ आएका पार्टीहरू कहीँ न कहीँबाट सञ्चालनमा रहेको दाबी गर्दै उनले रवीन्द्र मिश्रदेखि रवि लामिछानेका पार्टीहरू अन्तिममा दरबारमा नै गएर मिल्ने उद्देश्य बोकेर आएको तर्क गरे ।
कांग्रेस पर्वतको कार्यालय बीपी स्मृति भवनमा भएको औपचारिक कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्य तथा जिल्ला सल्लाहकार समिति, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, नगर तथा गाउँ कार्यसमितिका सभापतिहरू, प्रदेश कार्यसमितिका सभापतिहरू, पूर्व जिल्ला पदाधिकारीहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूको उपस्थितिमा अभियान शुरु गरिएको हो ।
सय दिनको अभियानमा पर्वतका विभिन्न पालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने नेपाली काँग्रेसका पर्वतका सभापति युवराज जोशीले बताए ।
अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने उनको भनाइ छ । कांग्रेसमा रहेर कांग्रेसको चिन्ता नै नगर्ने व्यक्तिहरूबाटै पार्टी कमजोर भएको भन्दै गफ गर्न नसुहाउने उनको भनाइ छ ।
कांग्रेसमा समस्या रहेको भन्दै बाहिर कुप्रचार गरेर कांग्रेसलाई कमजोर बनाउन खोजिएको भए पनि अवस्था त्यस्तो नभएको सभापति जोशीले बताए ।
जोशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति शिव प्रसाद सुवेदीले राखेका थिए भने सञ्चालन सचिव अशोक उचै ठकुरीले गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij