प्रकाशित मिति : बिहिबार, बैशाख १४, २०७४
काठमाडौं । भूकम्पबाट ध्वस्त भएको नयाँ बानेश्वरस्थित ऐतिहासिक यतापौं पाटी स्थानीय समुदाय र सरकारको सहयोगमा पुनःनिर्माण गरिएको छ ।
यतापौं पाटी पुनःनिर्माण गुठीको पहलकदमीमा समुुदाय र सरकारी सहयोग जुटाइएको हो । भूकम्पबाट ध्वस्त हुन अघि केही व्यक्तिहरुले श्रीनगर टोल विकास समितिको नाउँमा पाटीसहितको सार्वजनिक जग्गा हड्प्न खोजेको थियो ।
खेतबारीमा काम गर्न पाटनबाट आउने किसानहरुले बस्न, आराम लिन र बटुवाहरुको लागि पाटन गछेँका भावो परिवारले नेपाल संवत् ८५७ (वि सं १७९४) सो पाटी स्थापना गरेको त्यहाँ राखिएको शिलालेखमा उल्लेख गरिएको छ ।
सो पाटीको विहीबार एक समारोहकाबीच पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिहंल उद्घाटन गर्नुभयो । सो पाटी ललितपुरको गछेस्थित भावो खलकद्वारा संरक्षण गर्दै आएको शिलालेख उल्लेख गरिएको छ । पाटीको पुननिर्माणका लागि पुरातत्व विभागबाट ४० लाख, काठमाडौं क्षेत्र नं १ का सांसद् प्रकाशमान सिंहको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १० लाख उपलब्ध गराइएको यतापौ पार्टी गुठीका सचिव एवं समाजसेवी तीर्थलाल महर्जनले जानकारी दिए ।
संरक्षणका अभावमा हड्प्न खोजिएको पाटीका लागि स्थानीय सहयोगमा वर्षाको कानूनी लडाईपछि बल्ल पुनःनिर्माण सम्भव भएको महर्जनको कथन रहेको छ । सचिव महर्जनकाअनुसार पार्टी स्थापना गरिँदा एक रोपनी जग्गा भएपनि २०२१ सालको नापीमा सात आना दुई पैसा र दुई दाम मात्र रहेको छ ।
इतिहास, सामाजिक जीवनशैलीसंग जोडिएको पाटी सबैको धरोहर, इतिहास र सामाजिक जीवन अध्ययन गर्ने दस्तावेज रहेको पूर्व उपप्रधानमन्त्री सिंहले बताए ।
सो अवसरमा बोल्दै नेकपा (एमाले) का सचिव एवं पूर्व संस्कृति मन्त्री प्रदीप ज्ञवालीले पाटी जीवन्त इतिहास र सामाजिक जीवन र सभ्यताको खुल्ला पुस्तक रहेको धारणा राखे ।
समारोह पुरात्तत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सो पाटीको वरपर क्षेत्रमा पुननिर्माणका लागि चालू आर्थिक वर्षमा समेत थप २५ लाख रुपैयाँ विनियोजित गरिएको जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij