प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४
संसारको सबैभन्दा धेरै बाँचेको भनी दाबी गर्ने वृद्धको १ सय ४६ वर्षको उमेरमा मृत्यु भएको छ।
इन्डोनेसियन नेशनल सोडिमेड्जोका अनुसार एमबीएएच घोटो (ग्रान्डपा घोटो) को जन्म सन् १८७० को डिसेम्बरमा भएको थियो । प्रथम विश्वयुद्धमा उनी ४३ वर्षको र दोस्रो विश्वयुद्ध हुँदा ७० वर्ष भएको दाबी गरिएको छ ।
अत्यधिक धुम्रपान गर्ने चार श्रीमतीका श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएपछि उनको गाउँ सेन्ट्रल जाभा मा रहेको अस्पतालमा गत अप्रिल १२ तारिखमा पुर्याइएको थियो । अस्पताल पुर्याएपछि उनले परिवारसँगै बस्ने भनी घर जान जिद्दी गरेको र उनको आइतबार मृत्यु भएको जानकारीमा उल्लेख छ ।
इन्डोनेसियाले सन् १९९० देखि जन्म दर्ता गर्न थालेका कारण उनी आधिकारीक रुपमा संसारको सबैभन्दा धेरै बाँच्ने व्यक्तिको रुपमा परिचित भएनन् । यद्यपी, अधिकारीले बीबीसीसँगको कुराकानीमा उनको रेसिडेन्सी (निवास) कार्डमा लेखिएको जन्ममिती उनीसम्बन्धि अन्य कागजात र अन्तर्वार्ताले पुष्टि गरेको बताएका छन् ।
उनका नाती सुयान्तोले बीबीसीलाई दिएको जानकारी अनुसार उनलाई अस्पतालबाट घर ल्याइएपछि निकै कम खान थालेका थिए ।
‘मृत्यु हुने दुईदिन अघि उनले खानपिउन नै छोडिदिए, ’ उनले थपे । ‘उनी हामीसँगै बस्न चाहन्थे, आफ्नो मृत्युपूर्व उनी हामी सबैको अनुहार हेर्न चाहन्थे ।’
उनको अन्तिम संस्कार सोमबार गरिएको बताइएको छ ।
पूर्व किसान र माझी उनले एक वर्ष अघि आफू धेरै वर्षसम्म बाँच्नुको रहस्य खोलेका थिए । उनले भनेका थिए, ‘म यत्तिका वर्षसम्म बाँच्न सफल भएँ किनभने मेरो हेरबिचार गर्न र माया गर्ने परिवार पाएको थिएँ ।’
उनी स्थानीय स्तरमा हिरो थिए र आफ्नो कथा धेरैलाई सुनाउने गर्दथे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij