प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४
महिला अधिकारकर्मीहरुले निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै दबाब आन्दोलन सुरु गरेका छन् ।
महिला अधिकारकर्मीहरुले भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिनु भएका प्रधानन्यायाधिश कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन ।
प्रधानन्याधिश कार्कीमाथि लगाइएको महाअभियोगको विरोधमा बुधवार माइतीघर मण्डलामा एक घण्टा विरोध प्रर्दशन गरेका उनीहरुले राजनीतिक दलहरुले आफूहरुले गरेको भ्रष्टाचारको खुलासा हुने देखेपनि महाअभियोग लगाउने दुस्साहस गरेको आरोप पनि लगाए ।
भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्ध उभिनु भएका प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएकाले त्यसको विरुद्धमा लाग्नु परेको महिला अधिकारकर्मी लिली थापाले बताइन् । उनले अन्याय र अत्याचार गर्ने राजनीतिक दलहरुको कदमको डटेर विरोध गर्ने चेतावनी पनि पनि दिइन् ।
अधिकारकर्मी उषा मल्लले न्यायालयमाथि ठाडो हस्तक्षेप गर्ने काम भएकाले त्यसको विरुद्ध सडक संघर्षमा उत्रिनु परेको बताइन् । उनले शक्ति पृथकीकरणको सामान्य सिद्धान्तलाई समेत बेवास्ता गरेर राजनीतिक दलहरुले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाइएको भन्दै आक्रोश व्यक्त गरिन् ।
कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै सत्तारुढ काँग्रेस र नेकपा माओवादी केन्द्रले आइतबार प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग लगाएपछि त्यसको विभिन्न क्षेत्रबाट बिरोध हुँदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij