बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अर्जुन खुसी बोकेर घर फर्के : हात काट्नुपर्ने अवस्थाबाट जोगिए

  • प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४



  • चितवन। २१ वैशाख – चितवन मेडिकल कलेज अर्थाेपेडिक वार्डको २९६ नं श्ययामा हँसिलो मुद्रामा थिए चितवन जगतपुरका १२ वर्षीय अर्जुन हरिजन । घर जान पाउने खबर आएपछि खुसी नहुने कुरै भएन ।

    उनकी आमा फूलमायाँ अस्पतालको डिस्चार्ज कागज मिलाउँदै र बाँकी भुक्तानीको व्यवस्थापन गर्दै थिइन् । उनलाई सहयोग पु¥याउँदै थिए बुबा रामबहादुर र सहयोगी कृष्ण शर्मा ।

    हालै गोहीले चपाएर पनि बाँचेका उनी २७ दिनको अस्पताल बसाईमा सात दिन सघन उपचार कक्षमै रहे । “अब घर जाने, ठीक हुन लाग्यो”, हात देखाउँदै अर्जुनले हर्षित हुँदै भने । बुधबार ४ बजे उनलाई अस्पतालले डिस्चार्ज गरेपनि आवश्यक तयारी र वर्षाका कारण राति ८ बजे मात्रै उनी अस्पतालबाट घर हिँडे । “मलाई सहयोग गर्नेहरुलाई धेरै धेरै धन्यवाद, अब म ठीक भएर घर जाँदैछु, बाइबाई”, हात हल्लाउँदै अर्जुनले भने ।

    गोहीको आक्रमणबाट जोगिएको उनको हातमा ब्यान्डेज छ । निको हुनलाई अझै महिनौँ लाग्ने चिकित्सकले बताएका छन् । “हप्तैपिच्छे अस्पताल आउनुपर्छ भनेका छन्”, उनका बुबा रामबहादुरले भने, “तपाईंले गरेको सहयोग हामी सुकुम्वासीका लागि ठूलो भो ।” अस्पतालका अनुसार उनको उपचारका लागि एक लाख ४३ हजार लागेको छ । सात दिन आइसियु र अरू २० दिन सामान्य श्ययामा बसे अर्जुन ।

    डिस्चार्ज हुँदै गर्दा चितवन मेडिकल कलेजले ४२ हजार छुट गरेको छ । कलेजका प्रमुख प्रशासक देवराज लोहनी सामाजिक सेवाअन्तर्गत यसरी छुट गरिएको बताउछन । एक लाखभन्दा बढी औषधिमा खर्च भएको उपचारमा सक्रिय हुँदै आएका सहयोगी कृष्ण शर्माले बताए ।

    राससबाट समाचार सार्वजनिक भएपछि अहिलेसम्म देश र विदेशमा बस्ने नेपालीबाट करिब चार लाख ५० हजार आर्थिक सङ्कलन भएको छ । उपचारबाट बचेको रकमलाई कोष बनाएर उनको शिक्षादीक्षामा खर्च गरिने सहयोगी अभियन्ता विकास पाठकले बताए ।

    हात काट्नुपर्ने अवस्थाबाट जोगियो– चिकित्सक
    उनको उपचारमा संलग्न चिकित्सकले सुरुको अवस्था देख्दा हात काट्नुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए । पूरै हातको भित्री हड्डी नै बाहिर निस्किएको थियो । तैपनि हात जोगाउन खटियो टोली । शल्यक्रियापछि हात जोगिएकोमा उनीहरु पनि आश्चर्यमा छन् ।

    सुरुमै गोहीको मुखबाट भाग्यले बाँचेका उनको अनुभवी चिकित्सकीय टोलीका कारण शल्यक्रिया सफल हुँदा हात जोगियो । “ओपन फ्याक्चर, हड्डी नै बाहिर आएको थियो, पाता र किला राखेर अड्याएका छौँ”, अर्थाेपेडिक सर्जन डा आकेश प्रजापतिले भने, “हात काटेर फाल्नुपर्ने देखिन्थ्यो, धन्न जोगियो ।”

    अर्जुनको परिवार सकुम्वासी हो । भरतपुर नपा–२३ को जगतपुरस्थित घैलाबारी बस्ने उनी चैत २४ गते चितवन निकुञ्जसँगै जोडिएको राप्ती नदीमा पौडी खेल्न गएका बेला उनलाई गोहीले समाएको थियो । भाग्यले गोहीले चपाएर पनि उनी बाँच्न सफल भए । सँगै गएका साथीहरुले गोहीको आँखामा हानेपछि गोहीले छाडेको थियो ।

    एउटा हात तीन ठाउँमा भाँचिएर हाड नै बाहिर निस्किएको थियो । टाउको छेक्न खोज्दा अर्काे हातमा पनि गोहीले समाएको थियो । भुँडी र छातीमा प्वाल पारेको छ । “धन्न आन्द्राभुँडी तथा मुटुमा दाँतले भेट्न पाएन”, डा आकेशले भने, “त्यहाँ भेटेको भए ज्यान जोगिन गाह्रो थियो ।”

    छातीका विभिन्न ठाउँका घाउ ओभानो भएका छन् । खुट्टाभरि भएको घाउमा खाटा बस्न थालेको छ । उनलाई हप्तैपिच्छे नियमित परीक्षणमा आउन अस्पतालले भनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij