आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पानीको मुहान फुट्दा स्थानीयवासीथप त्रसित

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • बाढी र पहिरोका कारण हालसम्म ३८ जनाको मृत्यु भइसकेको प्यूठानमा पहिरो गएको सबै ठाउँमा पानीको मुहान फुट्दा स्थानीयवासी थप त्रसित भएका छन् । पानीको सधैँ अभाव हुने फोप्ली गाविसमा पहिरो गएको घरमुनिबाट पानीको मुहान फुट्न सुरु भएको छ ।

    बुधबार राति फोप्ली–६ मा गएको ठूलो पहिरोबाट पनि पानीको मुहान फुट्न सुरु भएको स्थानीय शिव सुवेदीले जानकारी दिनुभयो । “फोप्लीको सबै ठाउँमा पानीको चरम अभाव हुँदै आएको थियो, तर एक्कासि पानीको ठूल्ठूला मुहान फुटेको छ,” सुवेदीले भन्नुभयो– “सुक्खा ठाउँमा रहेका घरमुनि पहिला पानीको मुहान फुट्ने र पहिरो जाने गरेको छ ।”

    फोप्ली गाविसको ३, ४, ५ र ६ नम्बर वडाका जमिनमुनिबाट एक्कासि सुरु भएका पानीका मुहान एक दर्जन बढी रहेका छन् ।

    लगातारको वर्षा र भूकम्पका कारण पनि सुक्खा ठाउँमा पानीको ठूल्ठूला मुहान आएको हुनसक्ने भूगर्भसम्बन्धी जानकार तथा जिल्ला वन कार्यालय प्रमुख धनञ्जय लामिछानेले बताउनुभयो । “लगातारको वर्षा र केही समय पहिलाको भूकम्पबाट जमिनमा ठूलो कम्पन भएको छ, प्यूठानमा बाढी र पहिरो गएको अधिकांश ठाउँमा जथाभावी सडक निर्माण र डोजर तथा स्काभेटर प्रयोग गरिएको ठाउँ पनि हो,” लामिछानेले भन्नुभयो– “बस्तीसँगै जोडिएको जमिनमा चट्टान र माटो बीचमा ठूलो खाली ठाउँ देखा परेको छ ।”

    पहाडी क्षेत्रमा रहेको जमिनमा माटोको स्तर सामान्य प्रकृतिको रहने गरेको भन्दै लामिछानेले भूकम्पका कारण माटो र जमिनमुनिको चट्टानले ठाउँ छोडेको जानकारी दिनुभयो । “यस्तो अवस्थामा एक्कासि पानीको मुहान फुट्ने र पहाडी क्षेत्रमा पहिरो जाने उच्च जोखिम रहेको हुन्छ,” उहाँले भन्नुभयो । जिल्लामा पछिल्लो तीन दिनसम्म गएको बाढी पहिरो र मानवीय क्षति भएका ठाउँमा पानीका दर्जनौँ मुहान फुटेका छन् ।

    उत्तरी प्यूठानको जरवारा, अर्खा, खवाङ र पुजाँ गाविसमा पनि जथाभावी पानीको मुहान सुरु भएको छ र पहिरो जाने क्रम रोकिएको छैन । जोखिमको उच्च क्षेत्र मानिएको फोप्ली र लुङमा गएका पहिरोमा अहिले सबैभन्दा ठूला पानीका मुहान सुरु भएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर केसीको पहिरोमा परी मृत्यु भएको ठाउँ पनि सुरक्षित रहेको तर राति एक्कासि जमिनमुनिबाट पानीको ठूलो मुहान फुटेपछि पहिरोमा परी मृत्यु भएको प्यूठानका प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठोरले बताउनुभयो ।

    “उद्धारका लागि म अहिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्लीमै छु, यहाँ अधिकांश क्षेत्रमा ठूला पानीका मुहान फुटेका छन् जसले बाँकी रहेका बस्ती पनि जोखिममा रहेका छन् तर हामीले अहिले उद्धार र खोजमा ध्यान दिएका छौँ, ” प्रनाउ राठोरले भन्नुभयो– “उत्तरी क्षेत्रमा अहिले धेरै ठाउँ देख्दा सुक्खा देखिन्छ तर जमिनमुनिबाट एक्कासि पानीको मुहान आउने गरेको छ ।”

    गृह मन्त्रालयले देशभरका सबै जिल्लामा जिल्लास्तरीय दैवी प्रकोप प्रतिकार्य योजना बनाउने निर्देशन दिएको जनाएको छ । “गृह मन्त्रालयको समन्वयमा प्यूठानमा पनि यस्तो प्रतिकार्य योजना तयार भएको छ,” प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले भन्नुभयो– “प्रतिकार्य योजनामा बाढी पहिरो गएका यी क्षेत्र जोखिमका क्षेत्रमै परेका छन् । यी क्षेत्रमा बाढी पहिरो र आगलागीको उच्च जोखिम रहेको थियो । तर यस्तो ठूलो क्षति हुने हामीले सोचेका थिएनौँ ।”

    पहिरोले धेरै क्षति पु¥याएको फोप्लीमै उद्धारका लागि खटिनुभएका प्रजिअ पन्थले सो क्षेत्रमा जमिनमुनिबाट लगातार ठूला मुहान फुट्दा जोखिम यथावत रहेको बताउनुभयो । “यी क्षेत्रलाई हामीले उच्च जोखिममा राखेर आज स्थानीयवासीलाई स्थानान्तरण गर्दैछौँ, यहाँसँगै अन्य ठाउँमा पनि बस्ती जोखिममा परेका छन् जहाँ पानीका ठूला मुहान फुटेका छन्,” प्रजिअ पन्थले भन्नुभयो । जिल्लामा विभिन्न क्षेत्रमा जोखिममा रहेका बस्ती नबस्न तथा पानीको मुहान फुटेको क्षेत्रबाट स्थानान्तरण हुन समेत आग्रह गरिएको छ ।

    बाढी र पहिरोले त्रसित बनेको फोप्ली गाविसमा राहत सामग्री वितरण र स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान जिल्लास्तरीय राहत तथा उद्धार टोली गाउँमा पुगेको छ । झन्डै दुई घन्टाको पैदल हिँडेर फोप्ली पुग्नुभएका प्रजिअ पन्थ र प्रनाउ राठोर नेतृत्वको टोलीले गाउँमा उद्धार तथा राहत वितरण कार्य जारी राखेका छन् । प्रजिअ पन्थले नेपाली सेनाको सहयोगले राहत सामग्री बोकेर फोप्लीमा पु-याउने र वितरण गर्ने कार्य गरिएको बताउनुभयो ।

    जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी पहिरोका कारण मृत्यु भएकालाई प्रतिपरिवार रु ४० हजार किरिया खर्च र घर भत्किएकाका लागि रु आठ हजार राहत वितरण गर्ने निर्णय गरेको छ ।

    नेपाली सेनाको समन्वयमा हेलिकोप्टरमार्फत राहत सामग्री ल्याउने गरी हेलिप्याड बनाइएको भए पनि हालसम्म राहत सामग्री ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था भने हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij