शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०८३



  • काठमाडौं । सरकारले चालु आ.व. भित्र ३० अर्ब रुपैँया बराबरको विद्युत भारत–बंगलादेशमा निर्यात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना बनाएको हो ।

    प्राधिकरणकाअनुसार यस वर्ष विद्युत निर्यातबाट ३० अर्ब रुपैयाँको विजुली निर्यात गर्ने योजना छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालसम्म करिव २४–२५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भइसकेको यो वर्ष ३० अर्बको विद्युत् निर्यात हुने जानकारी दिनुभयो । पछिल्ला तीन–चार महिनामा प्रत्येक महिना करिब ५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको उहाँले बताउनुभयो ।

    उहाँकाअनुसार गत आर्थिक वर्षमा नेपालले करिव २९ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो । यस वर्ष भोटेकोसी बाडीले केही क्षति पुर्याएपनि वर्षा राम्रो भएकाले नदीमा पानीको बहाव बढेको र त्यसले विद्युत उत्पादनमा समेत सहयोग पुर्‍याएको श्रेष्ठको भनाइ छ । विद्युत उत्पादन बढ्दा निर्यातको परिमाण र आम्दानीसमेत गत वर्षभन्दा बढ्ने उहाँको भनाई छ । नेपालले गत वर्ष २९ अर्बको बिजुली बेचेकोमा यसवर्ष ३० अर्ब पुर्‍याइने उहाँको भनाई छ ।

    नेपालले देशभित्रको विद्युत् माग पूरा गरी वचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट हुँदै आएको छ । द्विपक्षीय विद्युत विक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत विक्री गरिन्छ भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारमा प्रतिष्पर्धी दरमा विक्री हुँदै आएको छ ।

    द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ । यसरी भारतमा हुने विद्युत् व्यापारसँगै बंगलादेशमा समेत नेपालले वर्षायामको अतिरिक्त विद्युत् निर्यात गर्दै आएको छ । तर गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएपछि बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको थियो ।

    बाढीका कारण द्विपक्षीय सम्झौताअनुसार स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो । बाढीबाट प्रभावित आयोजनाको सट्टामा अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्ने व्यवस्था मिलाइएको प्राधिकरण श्रेष्ठले जानकारी दिनुभयो ।

    भारतको केन्द्रिय विद्युत प्राधिकरणबाट अन्य आयोजनाको विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि केही दिनअघिदेखि पुनः निर्यात शुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । नयाँ व्यवस्थाअनुसार यसअघि स्वीकृति प्राप्त त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ र सोहीअनुसार विजुली बेच्न थालिसकिएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः शुरु हुनु नेपालको विद्युत् व्यापारका लागि ठूलो उपलब्धि भएको बताउनुभयो । यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन र क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

    श्रेष्ठले भन्नुभयो,‘हामीले लगभग २३–२४ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेका छौँ । यो वर्ष गत वर्षको भन्दा बढी विद्युत् निर्यात हुनेछ । गत वर्ष करिव २९ अर्ब रुपैयाँको विद्युत निर्यात भएको थियो । यस वर्ष अझै निर्यात बढ्ने छ । यसमा प्रकृतिले पनि हामीलाई साथ दिएको छ । वर्षा हुँदा केही असर त भयो नै तर नदीमा पानीको बहाव राम्रो हुन्छ र त्यसले विद्युत उत्पादन बढाउन सहयोग गर्छ । त्यसैले यस वर्ष २९ अर्ब रुपैयाँभन्दा बढीको विद्युत निर्यात हुने हाम्रो अनुमान छ । अहिलेसम्म भएको २४–२५ अर्ब रुपैयाँ बराबरको निर्यातमा पछिल्ला तीन–चार महिनामा प्रत्येक महिना करिव ५ अर्ब रुपैयाँको हाराहारीमा विद्युत निर्यात भएको छ । अझ हामीले त्यसको विस्तृत हिसाव भने गरिसकेका छैनौँ । बंगलादेशमा पनि अहिले पुनः विद्युत निर्यात शुरु भएको छ । यसअघि बंगलादेशमा विद्युत निर्यात गर्नका लागि हामीले भारत सरकारबाट दुईवटा जलविद्युत आयोजनाको विद्युत निर्यात स्वीकृति लिएका थियौँ । ती आयोजना त्रिशूली र चिलिमे थिए । तर ती दुवै आयोजनाको विद्युत् निर्यात बन्द भएपछि त्यसको सट्टामा अर्को जलविद्युत आयोजनाको विद्युत निर्यातका लागि प्रश्ताव गरेका थियौँ । त्यसको स्वीकृति प्रक्रियामा केही समय लागेको थियो । तर केही दिनअघिदेखि हामीले पुनः विद्युत निर्यात शुरु गरिसकेका छौँ । यो ठूलो सफलता हो ।’

    नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ ।

    बंगलादेशसँगको सम्झौता र भारततर्फको द्विपक्षीय तथा प्रतिस्पर्धी बजारमा हुने विद्युत विक्रीले नेपालको अतिरिक्त विद्युत व्यवस्थापनमा सहयोग पुर्‍याउँदै आएको छ । यस वर्ष जलविद्युत उत्पादन अनुकूल रहेकाले भारत र बंगलादेश दुवैतर्फको निर्यात बढ्ने र त्यसबाट विद्युत निर्यात आम्दानीसमेत गत वर्षको तुलनामा वृद्धि हुने प्राधिकरणले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij