प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
काठमाडौं,१४ साउन— यस वर्षको भोटोजात्रा आज देखाइँदैछ । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको थटीटोलबाट यही साउन ११ गते तानेर जावलाखेल पु¥याइएको चौथो दिन आज भोटोजात्राको साइत परेको छ ।
ज्योतिषीले साइत हेरी रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटीटोलबाट जावलाखेल पु¥याएको चौथो दिन भोटो जात्रा देखाइन्छ ।
एक हजार ३ सय वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् थटीटोलबाट जावलाखेल रथ तान्ने साइत हेर्ने समूहका सदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो ।
किंवदन्ती अनुसार टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे ।
खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे । किसानले हातको मयल माडेर औषधिका रुपमा रानीको आँखामा हालिदिए ।
संयोगवश आँखा निको भयो । खुसी भएका नागराजले किसानलाई हिराजडित भोटो दिएर पठाए । एक दिन किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले । एउटा भूतले आएर भोटो लग्यो ।
त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटीटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।
त्यसबेलाका राजाले भोटोको प्रमाणसहित लिन आउनू भनी रथ जावलाखेल पु¥याएको चौथो दिन भोटो देखाउने चलन चलेको उहाँले बताउनुभयो ।
ललितपुरको जावलाखेल चोकमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुने गर्दछ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो ।
भोटो देखाउने अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहने बताइएको छ । यसैबिच सरकारले आज काठमाडौं उपत्यकामा सार्बजनिक विदा दिएको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले गृहमन्त्रालयलेहिजो सूचना निकालेर आजको लागि उपत्यकामा सार्बजनिक विदा दिइएको जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij