शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

मधेशी मोर्चालाई गच्छदारभन्दा प्रचण्ड र देउवा किन प्यारो ?

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नजरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार ‘गद्दार’ देखिएको छ । मधेशी मोर्चाका नेताहरुले गच्छदारलाई गद्दार भन्नुको एउटै कारण हो, उनी मधेश आन्दोलनको समयमा सरकारमा जानु । मधेश आन्दोलनमा मधेसी जनता मरिरहँदा अध्यक्ष गच्छदार प्रधानमन्त्री केपी ओली सरकारमा सहभागी थिए । त्यही भएर आज मधेशी मोर्चाका नेताहरु उनलाई सरकारमा जानबाट रोक्न हर प्रयास गरिरहेका छन् । तर फोरम लोकतान्त्रिकका एकजना नेताले प्रश्न गर्छन्, ‘के विजय गच्छदारले अध्यक्ष प्रचण्ड र देउवाभन्दा ठूलो गल्ती गरेको हो र ? काँग्रेस नेतृत्वको सरकारले ४० भन्दा बढी र एमाले नेतृत्वको सरकारले २० जनाका ज्यान लियो तर उनीसँग मोर्चाको दोस्ती हुने तर गच्छदारसँग किन दुश्मनी ?‘चुनावको बेला उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले गच्छदारलाई मधेसको गद्दार भनेकै हो । तर, मधेसी जनताले उनको पार्टीलाई ठूलो पार्टी बनाएर पठायो । अहिले पनि उनीहरुले त्यही भूल गर्दैछन् ।’मधेशी जनतालाई मार्नेसँग दोस्ती र मधेशको हित चाहनेसँग दुश्मनी गर्नु भनेको राजनीतिक इश्र्या रहेको बताउँद्यै फोरम लोकतान्त्रिक पार्टीका उपाध्यक्ष रामजनम चौधरीले भने, गच्छदारजीलाई मोर्चाले होइन, उपेन्द्रले रोक्न खोज्नुभएको छ । यो राजनीतिक चरित्र भएन ।’

    उनले भने, ‘चुनावको बेला उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले गच्छदारलाई मधेसको गद्दार भनेकै हो । तर, मधेसी जनताले उनको पार्टीलाई ठूलो पार्टी बनाएर पठायो । अहिले पनि उनीहरुले त्यही भूल गर्दैछन् ।’

    ‘सरकारमा जाने नजाने निर्णय हामीले लिने हो, हाम्रो निर्णय मधेशी मोर्चाले गर्ने होइन,’ फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य कपलेश्वर यादवले पनि प्रश्न गरे, हामीले चाहियो भने सरकारमा जानसक्छौ । हामीले रोक्ने मधेशी मोर्चा को हो ?

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा बोल्दै मुसा (गच्छदार) हरुलाई सरकारमा नलिन माओवादीका अध्यक्ष प्रचण्डलाई सचेत गराएका थिए । उनले त्यहाँ मात्रै होइन, प्रचण्डलाई भेटेर पनि गच्छदारलाई सरकारमा नलिन दबाब दिएको संघीय गठबन्धन स्रोतले जनाएका छ । उपेन्द्र यादवले गच्छदारको बारेमा प्रचण्डसँग गरेको कुरा गठबन्धनको बैठकमा सुनाएका थिए ।

    यद्यपि मधेशी मोर्चाका एकघटक तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले गच्छदारलाई सरकारमा जान दिने नदिने मोर्चाको कुनै नीति नरहेको बताए । कसैले व्यक्तिगत रुपमा रोकेका होला तर मोर्चा वा गठबन्धनले नरोकेको दाबी गरे । तर गठबन्धनका एक नेता भन्छन्, ‘गच्छदारलाई रोक्ने भित्रि रणनीति गठबन्धनको रहेको छ ।’

    गच्छदार र उपेन्द्रको सम्बन्ध

    उनी दुईजना बीचको सम्बन्ध स्थापित पहिलो मधेश आन्दोलन पछि नै भएको रहेछ । त्यसअघि दुवैजनाको राजनीतिक स्कूलिङ फरक भएका हुनाले सम्बन्ध हुने कुरा थिएन । उपेन्द्र यादव एमाले हुँदै माओवादीमा थिए भने गच्छदार काँग्रेसमा थिए । त्यसैले यी दुवैजनाको भेट त्यसबेला नभएको हुनसक्ने उनीहरुका राजनीतिक सहकर्मीहरु बताउँछन् । उपेन्द्र यादव र विजयकुमार गच्छदार दुवैजनासँग राजनीतिक सहकर्मीको रुपमा काम गरिसकेका जयप्रकाश गुप्ताले पनि मधेशी आन्दोलनअघि यी दुई जना बीच सम्बन्ध नभएको हुनसक्ने बताए । उनले भने, ‘यसो कहिले काही भेटघाट भएको होला त्यो छुट्टै हो तर राजनीतिकै रुपमा भेट भएको होला जस्तो लाग्दैन ।’

    मधेश आन्दोलनको शुरुवात हुन लाग्दा गच्छदारले संसदमा आन्दोलन गरिरहेका थिए । मधेशको माग पूरा हुनुपर्ने भन्दै तत्कालिन एमालेका नेता महेन्द्र राय यादव, रघुवीर महासेठहरु आन्दोलन गरिरहेका थिए । त्यसक्रममा यी दुई नेताबीच फोनमा कुराकानी भएको जानकारहरु बताउँछन् तर गहिरो रुपमा मधेश आन्दोलन सम्पन्न भएपछि नै भेट भएको थियो ।

    मधेश आन्दोलन सम्पन्नपछि विजयकुमार गच्छदार र शरतसिह भण्डारी फोरम नेपालमा प्रवेश गरी संविधानसभाको पहिलो चुनावमा सोही पार्टीबाट सिट जितेका थिए । २०६५ सालमा प्रचण्ड नेतृत्वमा बनेको सरकारमा उपेन्द्र यादवसहित गच्छदार पनि गएका थिए । नौ महिनापछि माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्न थालेपछि गच्छदार माधव नेपालको पक्षमा उभिए भने उपेन्द्र यादव प्रचण्डको पक्षमा ।

    त्यहीँबाट यी दुईजनाको बाटो फरक भएको हो । यी दुईजना बीच कुरा नमिल्दा गच्छदारले पार्टी फोडेर नै माधव नेपालको सरकारमा सहभागि भए । त्यसपछि यी दुईजना बीचमा कहिले सुमधुर सम्बन्ध रहेन । एक अर्कालाई राजनीतिक रुपमा सिध्याउने दाउमा नै रहे ।

    माधव नेपालपछि झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा उपेन्द्र यादव मात्र गए । गच्छदारलगायत मधेशी मोर्चाका अन्य नेताहरु बाहिरै बसे । त्यसपछि बनेका विभिन्न सरकारहरुमा गच्छदार सरकारमा सहभागी भए तर उपेन्द्र यादव कहिले भएनन् ।

    उपेन्द्र यादवले शुरुदेखि नै गच्छदारको आलोचना गर्दै आएका छन् । तर, गच्छदार कहिले पनि उपेन्द्रको आलोचना गरेको छैन । पटक–पटक सरकारमा गएर आफ्नो संगठन निर्माण गरेका गच्छदारले दोस्रो सविधानसभाको चुनावमा उपेन्द्र यादवको पार्टीभन्दा ठूलो पार्टी बनाए । उपेन्द्रले जम्मा १० सीट ल्याए भने गच्छदारले १४ सीट । त्यसपछि झन् यी दुई नेताबीच टक्कराव शुरु भयो ।

    संविधानसभाको चुनावपछि उपेन्द्र यादवले प्रचण्डसँग गठबन्धन बनाए तर त्यसमा गच्छदारलाई ल्याउनु हुँदैन भनेर प्रचण्डलाई भने । तर, राजनीतिमा चतुर मानिने गच्छदारले प्रचण्डलाई मिलाएर गठबन्धनमा सहभागि भए । उनी गठबन्धनमा सहभागि मात्र भएनन्, निस्कृय रहेका मधेशी मोर्चालाई समेत क्रियाशिल गराए । त्यहाँ पनि विभिन्न विषयमा यी दुई नेता बीच खटपट भइरहन्थ्यो ।

    तर गच्छदार गठबन्धन र मोर्चामा धेरै दिन रहन सकेनन् काँग्रेस, एमाले र माओवादीसँग १६ बुँदे सम्झौता गरि सत्ताको खेलमा लागे । सुशिल कोइराला नेतृत्वको सरकारसँग मिलेर सविधान पनि जारी गरे ।

    मधेशमा उपेन्द्र यादव आन्दोलन गरिरहँदा गच्छदार ओली सरकारमा पनि थिए । त्यही सरकारले मधेशमा दर्जनौ युवालाई आन्दोलनको क्रममा गोली हानेर हत्या गर्यो ।

    गच्छदारको जति विरोध भएपनि उनी त्यस अवस्थामा पनि सरकारमा कायम रहे । जब ओलीको सरकार ढल्ने अवस्थामा आयो अनि समर्थन फिर्ता लिएर प्रचण्डलाई समर्थन गर्न पुगे । र, अहिले प्रचण्ड नेतृत्वको सरकारमा जानका लागि तयार भएर बसेका छन् तर उपेन्द्र यादव नेतृत्वको गठबन्धन र मधेशी मोर्चा ब्रेकर बनेर बसेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij