शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

एक सय तीन मेगावाट विद्युत् प्रणाली बाहिर

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  • काठमाडौँ– महत्वपूर्ण तीन जलविद्युत् आयोजना बन्द हुँदा मुलुकभर विद्युत्भार कटौतीको समय घट्न सकेको छैन ।
    नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक सात घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । गत सालको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएको भोटेकोसी जलविद्युत् आयोजना पछिल्लो पटक आएको बाढीका कारण थप समस्यामा परेको छ ।

    कुल ४५ मेगावाट क्षमताको सो आयोजना डेढ वर्षदेखि बन्द रहँदै आएको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । कुल १४४ मेगावाट क्षमताको सो आयोजनाबाट हाल ९६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार सो आयोजनाको एउटा युनिट बन्द गर्नुपरेको छ । मर्मतसम्भार जारी रहेका कारण अझै केही दिन पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन नसक्ने उनले जानकारी दिए । काफ्लेले भने, “कालीगण्डकीबाट ४८ मेगावाट कम उत्पादन भएको छ भने माथिल्लो भोटेकोसीको ४५ मेगावाट प्रसारण लाइनबाट बाहिर छ, यस्तै प्राधिकरणकै सुनकोसी १० मेगावाट पनि प्रणालीभन्दा बाहिर रहेको छ, यसले विद्युत्भार कटौती कम हुन सकेको छैन ।”

    कालीगण्डकीमा बालुवा छान्ने ‘डिसेन्डर’ र ‘इलेक्ट्रोमेकानिकल टर्वाइन’मा समस्या आएपछि ४८ मेगावाट बिजुली उत्पादन घटेको हो । त्यस्तै ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त माथिल्लो भोटेकोसी बाढीले बाँधमा क्षति पुर्याएपछि ४५ मेगावाट र भोटेकोसी बाढीले सुनकोसी आयोजनामा क्षति पु¥याएपछि १० मेगावाट विद्युत् उत्पादन बन्द भएको उनको भनाइ छ ।

    निजी प्रवद्र्धक र प्राधिकरणको सबै आयोजना पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिए विद्युत्भार कटौती केही कम गर्न सकिन्थ्यो तर केन्द्रीय प्रणालीमा १०३ मेगावाट विद्युत् कम छ ।

    प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रका अनुसार हाल एक हजार ३२५ मेगावाट विद्युत् माग छ तर प्रणालीमा मात्रै ६९० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । भारतबाट आयात गरिएको र निजी क्षेत्र तथा प्राधिकरणको सबै विद्युत् जोड्दा समेत माग अनुसार विद्युत् आपूर्ति गराउन नसकिएको कार्यकारी निर्देशक काफ्लेको भनाइ छ ।

    कालीगण्डकीको मर्मत साउन अन्तिमसम्म सकिने बताइए पनि भोटेकोसी र सुनकोसीमा बाढीले थप क्षति पुर्याएपछि अनिश्चित हुन पुगेको छ । कालीगण्डकीमा डिसेन्डर, इलेक्ट्रोमेकानिकलका अतिरिक्त सिभिलतर्फको डिजाइनमा समस्या देखिएकाले जापानको तोसिबा कम्पनीका प्राविधिकले मर्मत गरिरहेको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै माथिल्लो भोटेकोसीमा पुनःनिर्माण काम हुँदाहुँदै बाढीले बाँध पुरेको छ । त्यस्तै महत्वपूर्ण संरचनामा क्षति पुगेकाले काबु बाहिरको अवस्था उत्पन्न भएको भोटेकासी पावर कम्पनीले जनाएको छ । मर्मतका लागि रु दुई अर्ब ५० करोड लगानी गरेर आगामी मङ्सिरसम्म आयोजना सञ्चालनमा ल्याउने तयारी गरिए पनि बाढीले बाँध तथा अन्य संरचनामा समेत क्षति गरेपछि लगानी बढ्ने देखिएको छ ।

    प्राधिकरणको स्वामित्वमा रहेको सुनकोसी जलविद्युत् आयोजना पनि बाढीले क्षति पुर्याउँदा उत्पादन बन्द गरिएको छ । आयोजनाको सामान्य मर्मत सुरु गरिएको भए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन । सुनकोसी जलविद्युत् केन्द्रका प्रमुख सुरज दाहालले मर्मतको सामान्य काम सुरु भएको बताउनुभयो ।

    भारतबाट मात्रै थप ३०० मेगावाट विद्युत् आयात भए पनि १०३ मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको र अन्य आयोजना पनि बाढीपहिराका कारण पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकिएका कारण विद्युत्भार कटौतीको समय घटाउन असम्भव रहेको प्राधिकरणको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij