प्रकाशित मिति : शनिबार, साउन ८, २०७३
ललितपुर, साउन ८ – पहिरोले घरगोठ लगेपछि ललितपुरको भट्टेडाँडा–९ का पदमनाथ बजगाईं तीन दिनदेखि छिमेकीकोमा बस्नुभएको छ । त्यहाँको अरु १० घर पनि पहिरोको जोखिममा रहेको स्थानीय दिपक घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी दक्षिण ललितपुर जोड्ने कान्ति लोकपथको विभिन्न खण्डमा पहिरो खसेपछि सामान ढुवानीमा समस्या भएको छ । तीनपाने भन्ज्याङबाट काल्चेसम्म विभिन्न ठाउँमा पहिरो खसेपछि सामान ढुवानीमा समस्या भएको हो ।
ललितपुरको भट्टेडाँडा, माल्टा, प्यूटार, इकुडोल लगायतका १९ गाविसबाट दैनिक झण्डै ४० हजार लिटर दूध काठमाडौं ल्याउने गरिएकोमा अहिले ठप्प भएको छ । ति गाविसबाट ल्याइएको खुवा, दूध र तरकारीले ललितपुरको ७० प्रतिशत माग धान्ने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले जनाएको छ ।
संघका अनुसार बाँकी ३० प्रतिशत दूध चितवन, काभ्रे, नवलपरासी, रौतहट लगायतका जिल्लाबाट ल्याउने गरिएको छ । तर सडक अवरुद्ध हुन माग धान्न समस्या भएको संघले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij