प्रकाशित मिति : आइतवार, साउन १६, २०७३
दाङको घोराही हुदै रोल्पाको होलेरी जोड्ने शहिद मार्ग ६ दिन देखी अबरुद्ध छ । अविरल बर्षापछि सैघा गाबिस वडा नम्बर दुई मखखोलामा ठूलो पहिरो झरेको छ ।पहिरो अहिले पनि झर्ने क्रम रोकिएको छैन् । सो सडक खण्डलाई कालो पत्रे गर्नका लागि फराकिलो पार्ने क्रममा जमिन कमजोर बन्दा पहिरो झरिरहेको छ । एकै ठाउँमा पहिरो झरेको छ तर ठूलो छ ।
पहिरो हटाउनका लागि एउटा डोजर र एउटा स्काभेटर लागि परेका छन् तर पहिरो हटाउन कठिनाई परेको छ । पहिरो हटाउने क्रममा माथीबाट खसेको ढुंगा लागेर स्काभेटरका चालक राजु लामा घाईते भएका छन् । स्काभेटरको सिसा समेत फुटेको छ ।
जोखिम मोलेर पहिरो हटाउने प्रयास भैरहेको छ तर सफल हुन सकेका छैनन् । पहिरोको केही भाग हटाए पनि फेरी माथिबाट ढुंगा खस्दा समस्या उत्पन्न हुदै आएको दुईखोली प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दत्त रसाईलीले जानकारी दिए ।पहिरो हटाउन सडक विभागका कर्मचारी, सडक कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनिको साधन र प्रहरी खटेका छन् । तर ६ दिन पुगि सक्दा समेत पहिरो हटाउन सकिएको छैन् । सडक अबरुद्ध हुदा सोनापुर सिमेन्ट उद्योगलाई धेरै घाटा लागेको छ ।होलेरी नजिकै रहेको चुनढुंगा खानीबाट कच्चा पदार्थ ल्याउने उद्योगको गाडिहरु ठप्प छन् । नियमित चल्ने अन्य बस लगाएतका सवारीका साधन समेत सञ्चालनमा आउन नसक्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडक अबरुद्ध भएकै कारण होलेरीबाट घोराही ल्याउनु पर्ने बिरामीलाई एम्बुलेन्सले बुढागाउँ गाबिस हुदै सल्यानको कपुरकोट बाट दाङ ल्याएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij