प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३
गौशाला– बढ्दो गर्मीसँगै वर्षाले गर्दा अहिले महोत्तरीमा विभिन्न सर्पको बिगबिगी बढेको छ । जिल्ला अस्पताल जलेश्वरमा दैनिक १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक २४ घन्टामा न्यूनतम १० देखि अधिकतम १२/१५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा मणिष पाण्डेले बताउए ।
गर्मी र वर्षायामअघि कहिलेकाहीँ फाटफुट रुपमा सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनाको अनुपातमा सर्पदंशका बिरामी उपचारका लागि आउन थालेको अस्पतालका मेडिकल अधिकृत डा राजीव झाले बताए ।
जलेश्वर अस्पतालमा आउने सर्पदंशका बिरामीमध्ये अधिकांश विषालु करैत सर्पले टोकेको आउने गरेका छन् भने कोही कोही गोमन र अन्य सर्पले टोकेका बिरामी तथा कोही कोही विष नलाग्ने सर्पले टोकेका बिरामी पनि आउने गरेको अस्पताल प्रमुख पाण्डेले बताए ।
सर्पदंशको बिरामीलाई उपचार गर्ने क्रममा एउटा बिरामीलाई पाँच÷सातदेखि १०÷१२ र कसैकसैलाई विषको मात्राका आधारमा ३०/४० भाइल एन्टिस्नेक भेनम नामक सर्पदंशविरुद्धको औषधि दिनुपरेको डा पाण्डेले बताए ।
उनले जिल्ला अस्पताल जलेश्वरमा एन्टिस्नेक भेनम पर्याप्त मात्रामा रहेको र समयमै अस्पतालमा आइपुग्ने बिरामी कोही पनि सर्पदंशका कारण मर्न नसक्ने अवस्था रहेको उल्लेख गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij