प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३
प्यूठान । झिमरुक खोलाको बाढीले नदी किनारमा पर्ने सयौँ खेतीयोग्य जमीन कटान गरेको छ । खेतमा लगाएको धानसहित जिल्लाका विभिन्न क्षेत्रमा गरी २ सय ४६ हेक्टर खेतीयोग्य जमीन खोलाले कटान गरेको जिल्ला कृषि विकास कार्यालय, प्यूठानले जानकारी दिएको छ ।
खोलाले उत्तरपूर्वी प्यूठानको ठूलाबेशीदेखि बरौलासम्मको खेत कटान गरेको छ । अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने बिजुवार, धर्मावती खप्रेङखोला, गेजवाङ, दम्ती, मरण्ठाना, सारीवाङ, दाखाक्वाडी, विजयनगरसहित रस्पुरकोट, बिजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेत खोलाले धेरै कटान गरेको छ ।
‘वर्षभरि खान पुग्ने खेत खोलाले लग्यो,’ खलङ्गा सारीवाङका हेमराज पराजुलीले भने, ‘नदी नियन्त्रण प्रभावकारी नहुँदा वर्र्षेनि खेत कटान हुने गरेको छ ।’ दीर्घकालीन समाधान नखोजे झिमरुक उपत्यकामा पर्ने खेतीयोग्य जमीनमा खोलो पस्ने उनले बताए । जलोत्पन्न प्रकोप नियन्त्रण कार्यालय, बिजुवारमार्फत नदी नियन्त्रणका लागि वर्षेनि करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलब्धि नदेखिएको उनको भनाइ छ । ‘नदी नियन्त्रणको बहाना बनाएर बालुवामा पानी हालेजस्तै भएको छ,’ उनले भने, ‘कनिका छरेजस्तै गरेर नदी नियन्त्रण हुन सक्दैन ।’
खेतमा वर्षेनि खोलोे पसे पनि सम्बन्धित निकायले बेवास्ता गर्दा नदी नियन्त्रण हुन नसकेको बाग्दुलाका नेगनसिंह कवँरले बताए । ‘निजी खेतमा वर्षेनि खोलो बग्छ,’ उनले भने, ‘यसले थुप्रै व्यक्तिको रोजीरोटी गुमेको छ । त्यसैले, खोलो नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्छ ।’
जिल्लाभर ७ सय १९ जना किसानको खेतीयोग्य धानसहितको खेत झिमरुक खोलाले नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय, प्यूठानका वरिष्ठ कृषि विकास अधिकृृत मधुसूदन घिमिरेले जानकारी दिए । ‘वर्षेनि खेत कटान हुँदै गएको छ,’ उनले भने, ‘खोला नियन्त्रण गर्न प्रभावकारी कदम नचाले खाद्यान्न सङ्कट हुने सम्भावना छ ।’ खेतीयोग्य जमीनमा पछिल्लो समय बढ्दैै गएको अव्यवस्थित बसोवास र झिमरुक नदीले गर्ने कटानले खाद्यान्न सङ्कट सृजना हुने उनको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij