प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३
आजसम्म जति पनि महिला वैदेशिक रोजगारीमा गएका छन् ती सबै कुनै न कुनै किसिमले शोषणमा परेका छन् । सयमा १० प्रतिशतलाई मात्र राम्रो भएको होला तर समग्रमा महिलाको वैदेशिक रोजगार सुरक्षित छैन ।
हाउसमेडका रुपमा जति पनि महिला गएका छन्, त्यो भनेको सरासर बेचिनु नै हो । पैसा कमाइ हुन्छ भन्दैमा आफ्नो ज्यान जोखिममा राखेर अवैधानिक ठाउँमा काम गर्न जानु गलत कुरा हो ।
उनीहरुलाई यो कुराको चेतना हुन जरुरी छ ।
हाउसमेडका रुपमा काम गर्न जाने महिलाहरु ९९ सय प्रतिशत नै असुरक्षित छन् ।
पहिलो कुरा तिनीहरुलाई राम्रोसँग भाषा आउँदैन । दोस्रो कुरा त्यो देशका नीति नियम र ऐन कानुनका बारेमा केही जानकारी हुँदैन । केही पर्यो भने उजुरी गर्न कहाँ जाने भन्ने कुरा थाहा हुँदैन । अप्ठ्यारो परेको खण्डमा कसको सहारा लिने भन्ने पनि थाहा हुँदैन ।
कुनै कुनै देशहरुमा नेपाली महिलाहरु गलत काम गरिरहेको अवस्थामा रङ्गेहात फेलापरेमा खाली खुट्टा जेल हालेका, निल डाम हुने गरी पिटेर नेपालमै पठाएको घटना पनि बेलामौकामा सुन्न पाइन्छ ।
सबैभन्दा भयावह अवस्था त के छ भने अहिले जति पनि नेपाली महिला वैदेशिक रोजगारीमा छन् ।
अबको १० वर्षपछि तिनीहरुवाट जन्मिएका नाजायज सन्तानले नागरिकता कहाँबाट पाउने भन्ने कुराको ठूलो समस्या आउनेवाला छ । विनाबाबुको बच्चा भनेपछि कसैले पनि मन पराउन सक्दैन । अर्कोतिर समाजमा पनि तिनीहरुलाई स्वीकार गरिएको हुँदैन ।
आउने एक दशकमा यो समस्याले बिकराल स्वरुप लिने देखिन्छ । उसो त आमाको नामबाट नागरिकता लिने भन्ने कुरा पनि अहिले बहसमा आएको छ ।
तर यस्तो अवस्थामा काम गर्न विदेश गएका महिलाहरुले जन्माएका बच्चाका हकमा कसरी समस्या समाधान गर्ने हो भनेर आजैबाट छलफल र बहस हुन जरुरी छ ।
युरोपियन देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जाने युवतीहरु पनि सुरक्षित छैनन् । गाउँमा भएका परिवारले तिनको महँगो फिस तिरिदिन सक्दैनन् ।
उतै काम गर्दै पढ्दै गर्छु भन्नु पनि असुरक्षामा पर्नु नै हो । मास्टर डिग्री या पीएच्डी गर्नका लागि विदेश जानु राम्रो हो तर भर्खर प्लस टु गरेका २० वर्षभन्दा कम उमेरका, कुनै सीप, ज्ञान नभएका जानु उपयुक्त हुँदैन ।
सही गलत छुट्याउन सक्ने परिपक्व भएर मात्र वैदेशिक रोजगारीमा जानु ठीक हुन्छ । त्यस्ता विद्यार्थीहरुका लागि युरोप, अमेरिका, अस्ट्रेलियालगायत देशमा गएर काम गर्दै पढ्ने कुरा आकाशको फल जत्तिकै दुर्लभ कुरा हो ।
यो विषयमा सबैले मनन् गर्नु आवश्यक छ । पैसा आउँछ भनेर आँखा चिम्लेर हाम फाल्नु सबै हिसाबले गलत छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij