प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३
धादिङ – त्रिशूली नदी बचाउने र यसको सफाइ गरी पर्यटक भित्र्याएर स्वच्छता कायम गर्ने अभियान सञ्चालन भइरहे पनि राजमार्ग छेउका मानिसले शौचालय नदीमा मिसाउन छाडेका छैनन् ।
मलेखुदेखि गजुरीबजारसम्म पर्ने गजुरी गाविसका क्षेत्रमा बनेका घरहरुले त्रिशूली नदीमा सिधै शौचालय मिसाउने गरेको अनुगमनका क्रममा देखिएको छ ।
यस क्षेत्रको ८० घरमा गरिएको अनुगमनमा ५२ घरधुरीले शौचालय त्रिशूली नदीमा मिसाउने गरेको देखिएको अनुगमनमा खटिएको गजुरी गाविस कार्यालयले जनाएको छ ।
गजुरी गाविसलाई खुला दिसामुक्त गाविस बनाउने अभियान सञ्चालनका क्रममा गाविसस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गाविसलाई खुला दिसामुक्त गाविस बनाउन कार्यक्रम सञ्चालन गरेको छ । सोक्रममा २८ घरमा शौचालय नै नभएको पाइएको छ ।
त्रिशूली लगायत कुनै पनि नदी एवं खोलामा शौचालय मिसाउन नपाइने भएकाले सबै घरलाई तत्काल आफैँले सेफ्टी ट्याङ्की बनाउन निर्देशन दिइएको छ । शौचालय नबनेका घरलाई तत्काल शौचालय बनाउन निर्देशन दिइएको गाविसले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij