प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३
महोत्तरी जिल्लाको बथनाहा गाविसका हजारौँ जनता वर्षौंदेखि जिल्ला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएर रहेको बथनाहा गाविसका बासिन्दा आफ्नो सरकार र सम्बन्धित निकायको उदासिनताका कारण आफ्नै जिल्लाको सदरमुकाम जलेश्वर आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीय नेपाली काँग्रेस नेता कालिकान्त झाले बताए ।
जिल्ला सदरमुकाम जलेश्वरबाट मात्र नौ किलोमिटरको दूरीमा रहे पनि सो गाविसबाट सोझै आफ्नै देशको भूमि प्रयोग गरेर जिल्ला सदरमुकाम आउने बाटोको अभावमा त्यस गाविसका हजारौँ बासिन्दा भारतीय बाटो प्रयोग गर्दै आएको स्थानीय भोगी कापरले बताए ।
बथनाहा गाविसअन्तर्गतका बथनाहा, मधवा, सकरीलगायतका हजारौँ बासिन्दा सदरमुकाम जलेश्वर आएर कुनै सरकारी कार्यालयसँग सम्बन्धित वा हाट, बजारमा व्यक्तिगत कामकाजका लागि भारतकै बाटो प्रयोग गर्नुपरेको स्थानीय अरुण रायले बताए ।
बथनाहावासीले मात्र नौ किलोमिटर टाढा रहेको आफ्नै जिल्लाको सदरमुकाम जलेश्वर आउनका लागि वर्षौंदेखि भारत विहार राज्यको सीतामढी जिल्लाको बराही, सुरसण्ड, गोपालपुर, नवाही र भिट्ठामोड तय गरेर मात्रै जलेश्वर आउनुपरेको छ ।
यसका लागि उनीहरुले करिब रु १२० र दुई घन्टा थप समय खर्चिनु परेको स्थानीय लालेन्द्र दुवेले बताए ।
जिल्ला सदरमुकाम जलेश्वरसँग बथनाहालाई जोड्ने नेपाली सडक वर्षौंदेखि निर्माण हुन नसकेको र भएपनि दुर्घटनायुक्त रहेको तथा वर्षायाम लाग्ने बित्तिकै हिलो, पानी र बाटो कटानले बथनाहावासी नेपाली बाटो प्रयोग गर्नुको सट्टा भारतीय बाटो प्रयोग गरेर आफ्ना गन्तव्यमा जाने गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij