प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७३
बर्दिया । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाट पुल निर्माण भएको वर्षदिनमै पुलको किनारमा भ्वाङ परेको छ ।
विसं २०७१ साउनमा निर्माण सकिएको पुलको पूर्वी किनारा राजापुर तर्फको स्लोप जाली नदी कटानले बगाएपछि पुलको किनारमै रहेको साइडबिच चर्किनुका साथै पुल छेवैमा ठूलो भ्वाङ परेको हो ।
हाल पुल सुरक्षाका लागि जाली भर्ने काम भइरहेपनि जाली पानीमा खस्ँिकदै गइरहेकोले पुल जोखिममा परेको राजापुर नगरपालिका (माओवादी केन्द्र)का नगर इन्चार्ज राजेश थारूले बताए ।
पुलको पूर्वी किनारतर्फ करिव ७० मिटर तटीय भागमा एउटा पिलर बिना नै तटबन्ध बाँधेर माटो पटानी गर्नाले नदी कटानको जोखिममा पुल परेको उनले बताए ।
नदीको बहाव तीव्र भएका कारण तटबन्ध खस्किनुका साथै ग्राभेल गरेको ठाउँ पनि भत्किन सुरु गरेको छ । उनले यस्तै स्थिति रहे नदीको बीचमा पुल रहने बताए ।
पुल नदीको बीचबाट पिलर बिना नै गाइडवन्डको भरमा जोखिमयुक्त अवस्थामा निर्माण सम्पन्न गर्न लागेको भन्दै पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।
हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने भएपनि पुल निर्माणकै क्रममा नदीले धार परिवर्तन गर्दा पुलको अन्तिम पिलरदेखि ७० मिटर पूर्वी किनार राजापुर क्षेत्रतर्फ कटान गरेकाले एउटा स्ल्याबसहित पिलर थप गर्नुपर्ने अवस्था आएको थियो ।
पुलमा एउटा स्ल्याबसहित पिलर थप गर्नका लागि रु चार करोड लागत अनुमानसहित मागगरेपनि सरकारले बजेट विनियोजन नगरेका कारण जोखिम अवस्थामै पुल सम्पन्न गरिएको निर्माण कम्पनीले जनाएको छ ।
हुलाकी सडक आयोजनाका इन्जिनियर वीरेन्द्रप्रकाश गुप्ताले भ्वाङ परेको ठाउँमा मर्मत र गाइडवन्ड निर्माणका लागि ठेकेदार सम्बन्धित साइटमा निर्माण गर्न गइसकेको बताए ।
सम्बन्धित ठेकेदारले हस्तान्तरण नगरेको हुँदा निर्माण गर्ने दायित्व उसैको हो । उनले भने, हामीले सोका लागि निर्देशन दिइसकेका छौँ । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले भने भ्वाङ परेको विषयमा आफुलाई जानकारी नभएको बताए ।
पुल सुरक्षाका लागि तटबन्ध निर्माण गर्नुपर्नेबारे सम्बन्धित आयोजना र कर्णाली नदी व्यवस्थापन आयोजनालाई संवेदनशील हुन जानकारी गराइएको उनले जानकारी दिए ।
नेपाल सरकारको विकास बजेटअन्तर्गत रु ४५ करोडको लागतमा बर्दिया सदरमुकाम गुलरियाबाट ३८ किलोमिटर पश्चिममा निर्माण भएको राजापुर र सतिघाट जोड्ने पुल हुलाकी सडक आयोजनाको लापरबाहीका कारण जोखिममा परेको स्थानीयवासी बताउँछन् ।
पुलको भ्वाङ टालटुल मात्रै पारेकाले पुलको सुरक्षा गर्न स्थानीयवासीले मागसमेत गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij