प्रकाशित मिति : आइतवार, साउन ३१, २०८३
‘जबरजस्ती विशेष महाधिवेशन गरेर धेरै साथीहरूलाई बाहिरै राखियो, अदालतको निर्णय मान्छु’
नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायलयले पटक पटक आफूलाई न्याय दिएको टिप्पणी गरेका छन्।
संस्थापनइतरले आयोजना गरेको राष्ट्रिय भेला/सम्मेलन समापन समारोहमा आज बोल्दै देउवाले भने, ‘सर्वोच्च अदालतदेखि सबै न्यायलयले हिजोदेखि हामीलाई न्याय दिएको हो। राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो। अहिले पनि न्यायलयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु।’
देउवा सिंगापुर र हङकङमा ५ महिना उपचारपछि स्वदेश फर्किएका थिए।
उनले विशेष महाधिवेशनबारे आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दिएको बताए। गत पुसमा विशेष महाधिवेशन हुँदा देउवा सहभागी भएका थिएनन्।
‘अझै हामीले मुद्दा हालेका छौं अदालतमा। मैले विशेष महाधिवेशन गर्न मानेको थिइनँ। मैले भनेको थिएँ- पार्टीका सबैको सहमतिले विशेष महाधिवेशन गरौं यसरी नगरौं भनेर। जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो। त्यसको खिलापमा हामीहरू अदालत गयौं,’ उनले भने, ‘मलाई विश्वास छ- अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि मैले धेरै अदालतको विषयमा धेरै बोल्नु छैन। अदालतलाई विश्वास गर्दै अदालतको कुरा मान्छु।’
उनलाई सनातन हिन्दु राष्ट्रबारे केही बोलिदिन भनेर एक जनाले लेखेरै दिएका थिए।
त्यसबारे देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ। ब्रतबन्ध गरेको हो, हिन्दु परम्पराअनुसार विवाह गरेको हो। पशुपति जान्छु, पूजा गर्छु। के हुने नहुने भन्ने जनताको कुरा हो। धार्मिक स्वतन्त्रता हुनुपर्छ।’
उनले विमानस्थलदेखि भेलासम्म आएर सद्भाव राख्नेहरूलाई आफूले कहिल्यै बिर्सन नसक्ने पनि बताएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij